ललिलपुरको चक्रपथ क्षेत्रमा कर्फ्यू

काठमाडौं । ललितपुरको चक्रपथ क्षेत्रमा आज (शुक्रबार) बिहान देखि कर्फ्यू लगाइएको छ । रातो मछिन्द्रनाथको रथ तान्ने क्रममा बिहीबार स्थानीय र प्रहरीबीच दिनभरिजसो भिडन्त भएपछि शुक्रबार बिहान ४ बजेदेखि राति १० बजेसम्म कर्फ्यू आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालय ललितपुरले जनाएको छ ।  प्रशासनले शुक्रबारका लागि बल्खु पुलदेखि मनोहरा पुलसम्मको चक्रपथ क्षेत्रभित्र कर्फ्यु आदेश जारी गरेको बताएको छ । कर्फ्यु अवधिमा तोकिएको क्षेत्रभित्र भेला, जुलुस, आवतजावत गरेमा सुरक्षाकर्मीलाई गोली हान्ने आदेश समेत दिएको प्रशासनले जनाएको छ । यसैबीच, वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको जात्रा छोटो विधिबाट सम्पन्न गर्ने सहमति भएको छ । ललितपुर जिल्लामा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टको अध्यक्षमा बिहीबार बसेको बैठकमा यस्तो सहमति गरिएको हो । सहमतिअनुसार आज १९ गते क्षमा पूजा गर्ने, २१ गते सुरक्षा सावधानी अपनाउँदै रथ थोरै तान्ने, २२ गते साइत हेर्ने र २६ गते मूर्ति बुङ्गमतीमा पुर्याएर मन्दिरमा बिराजमान गराउने कार्यक्रम तय भएको छ । बैठकमा रातो मच्छिन्द्रनाथको जात्रामा प्रत्यक्ष सहभागी हुने १९ वटा सङ्घसंस्थाका प्रतिनिधिसहित ललितपुरका सांसद, सुरक्षा निकाय र स्थानीय जनप्रतिनिधिको सहभागिता थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *