रातो मछिन्द्रनाथको क्षमापूजा गरियो, भोटोजात्रा नगरिने

काठमाडौं । रातो मछिन्द्रनाथको रथयात्रा नगरी क्षमापूजा गरिएको छ । शुक्रबार कर्फ्युबीच केही सरोकारवाला व्यक्तिको उपस्थितिमा क्षमापूजा गरिएको हो । पाटनका विभिन्न १८ जातीय खलःबीच क्षमापूजा मात्र गरेर बुङमती पु¥याउने सहमति भएपछि क्षमापूजा सम्पन्न गरिएको छ । ज्यापू, ताम्राकार, सिकमी, बाराही, राजोपाध्याय, नापित, कपाली, खड्गीलगायत समाजद्वारा संयुक्त रुपमा जारी विज्ञप्तिअनुसार भदौ २१ गते हाल पुल्चोकमा अवस्थित मत्स्येन्द्रनाथको रथ त्यहाँबाट अलि पर रहेको सोह्रखुट्टेपाटीसम्म तान्ने र छ्वयलाबु (नेवार समुदायमा मनाउने एक किसिमको पर्व) मनाउने, २२ गते भुःज्या (मत्स्येन्द्रनाथ यात्राको क्रममा मनाइने एक प्रकारको पर्व) मनाउने अनि साइत हेर्ने र साइत प्राप्त भएमा २६ गते मत्स्येन्द्रनाथलाई रथबाट ओरालेर सानो खटमा राखेर बुङमती लगिने उल्लेख छ । यसबारेमा शिल्पकार समाजले भने सहमति जनाएको छैन । पाटनमा १९ वटा जातीय खलः छन् । रातो मछिन्द्रनाथको रथलाई जाउलाखेल पु¥याएको चौथो दिन जाउलाखेलमा भोटो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्रा गर्ने परम्परा छ । तर यो वर्ष छोटो प्रक्रियाबाट रथलाई बुङ्गमती पु¥याउने भनिएसँगै बीचका सबै प्रक्रियाहरू स्थगित भएको गुठी संस्थानका प्रवक्ता सरोज थपलियाले जानकारी दिए । बिहीबार जात्रा सञ्चालन गर्ने नाममा धार्मिक सद्भावमा खलल पु¥याउने, स्थानीयको भावनामा चोट पु¥याउने र कोरोना महामारीबीच जनस्वास्थ्यमा खेलबाड गर्ने काम भएको भन्दै सम्भावित खतरा रोक्न जिल्ला प्रशासन कार्यालयले शुक्रबार बिहान ४ बजेदेखि राति १० बजेसम्मका लागि कर्फ्यु जारी गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *