९०२ कोरोना संक्रमित थपिए, २ हजार २८७ डिस्चार्ज

काठमाडौं । नेपालमा मंगलबार थप ९०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा १० हजार ६११ जनामा पीसीआर परिक्षण गर्दा ९०२ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । जसमध्ये काठमाडौं उपत्यकामा ३९६ जना संक्रमित थपिएका छन् । काठमाडौंमा ३००, ललितपुरमा ३८ र भक्तपुरमा ५८ संक्रमित थपिएको गौतमले बताए । यो सँगै नेपालमा कुल संक्रमितको संख्या ४८ हजार १३८ पुगेको छ । पछिल्लो २४ घन्टामा देशभरबाट २ हजार २८७ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । डिस्चार्ज हुने यो संख्या अहिलेसम्मकै उच्च हो । योसमेत देशभर हालसम्म संक्रमणमुक्त हुनेको संख्या ३२ हजार नौ सय ६४ पुगेको छ । गौतमले संक्रमणमुक्त हुने दर ६८ दशमलव ५ प्रतिशत रहेको बताए । हाल सक्रिय संक्रमित १४ हजार आठ सय ६८ जना छन् । संक्रमितमध्ये आठ हजार ५३ जना संस्थागत र ६ हजार आठ सय १५ जना होम आइसोलेसनमा छन् । कडा लक्षण भएका एक सय ४४ जनाको आइसियू र २३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको गौतमले जानकारी दिए । यस्तै थप ६ जनाको संक्रमणबाट मृत्यु भएको छ । योसहित संक्रमणबाट मृत्यु हुनेको संख्या ३०६ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *