उपत्यकामा जारी निषेधाज्ञा खुकुलो पार्ने तयारी

काठमाडौं । काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा आज (बुधबार) रातिदेखि खुकुलो पार्ने तयारी गरिएको छ  । तीन सातादेखि जारी निषेधाज्ञा हटाउने वा खुकुलो गर्ने विषयमा बुधबार निर्णय हुने भएको हो । तीन वटै जिल्लाका प्रमुख अधिकारीहरुले जिल्ला सुरक्षा समितिको संयुक्त बैठक बसेर निर्णय गर्न लागेका छन् । काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी, जनस्वास्थ्य प्रतिनिधि, सुरक्षा निकायका पदाधिकारीलगायत सम्बद्ध अधिकारीबीच हिजो निषेधाज्ञाको विषयमा छलफल भएको थियो । छलफलमा निषेधाज्ञा खुकुलो बनाउँदै लैजाने, उपत्यकाको नाकाबाट हुने आवागमन व्यवस्थित पार्ने, सार्वजनिक यातायातका साधनमा जोरबिजोर लागू गर्ने, बजार खुला गर्ने तथा सामाजिक दूरी लगायतका विषयमा छलफल भएको थियो । दशैँ, तिहार, छठ तथा नेपाल संवत् लगायतका चाडपर्व नजिकिँदै गएकाले कोरोनाको महामारी भयावह हुन नदिन कसरी अगाडि बढ्ने तथा उद्योग व्यवसाय सञ्चालन र बजार खुला राख्ने विषयमा मापदण्ड तोक्ने तयारी भएको छ । यसअघि काठमाडौं उपत्यकाको नगरपालिका फोरमले सीमा नाकामा कडाई गर्न सेना परिचालनका लागि सिफारिस गरेको थियो । फोरमको बैठकले महामारी नियन्त्रणका लागि जारी निषेधाज्ञालाई उपत्यकाभित्र क्रमशः खुकुलो बनाउँदै लैजान तथा नाकामा थप कडाइ गर्न संघीय सरकारसँग आग्रह गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *