आज जितिया पर्वः राष्ट्रपति र प्रधानमन्त्रीद्वारा शुभकामना

काठमाडौं । आज (बिहीबार) जितिया पर्व । विषेश गरी थारु तथा मिथिला समुदायका महिलाहरुले हरेक वर्ष आश्विन कृष्णाष्टमीका दिन मुख्य रुपमा यस पर्वलाई मनाउने गर्दछन् । सन्तानको दीर्घायु तथा समृद्धिको कामना गर्दै थारु तथा मिथिला समुदायमा यो पर्व परापूर्वकालदेखि मनाउदै आएको पाइन्छ । जितवाहन देवताको पूजा गर्ने भएकाले यस पर्वलाई जितिया पर्व भनिएको सँस्कृतिविदहरुको भनाई छ । आजको दिन थारु समुदायका महिला बिहानैदेखि निराहर ब्रत बस्छन् । बिहानै नुहाई धुवाई गरी बेलको पात टिपेर दिनभर निराहर ब्रतबस्ने चलन रहेको छ । बेलुकीपख ब्रतालुहरु फेरि खोलामा गई पिनाले नुहाई पातमा पिना बगाउँछन् । त्यसपछि सबै ब्रतालु महिला जम्मा भएर कथा श्रवण गर्ने प्रचलन छ । तीन दिनसम्म मनाइने यस पर्वमा चेलीबेटीलाई निम्ता गरी बोलाउने र लिन जाने चलन समेत रहिआएको छ । यसैबीच पर्वका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुभकामना सन्देश जारी गरेकी छन् । सन्देशमा उनले यस्ता सांस्कृतिक पर्वले परिवार र समुदायका सदस्यबीच आपसी प्रेम‚ विश्वास‚ सद्भाव र सहयोगको भावनालाई प्रगाढ बनाउनाका साथै विविध जातजाति‚ भाषाभाषी‚ संस्कृति र भूगोलका सम्पूर्ण नेपालीबीचमा समेत परस्पर सद्भाव‚ सहिष्णुता‚ समझदारी र ऐक्यबद्धताको भावनालाई सबल बनाउँदै बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरिन् । यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले जितिया पर्वले परस्परमा सद्भाव र प्रेमको सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गरेका छन् । सन्देशमा उनले कोभिड–१९ को विश्वव्यापी महामारीका कारण यस वर्ष आफ्ना पर्व मनाउँदा घरमै बसेर सावधानीपूर्वक मनाउनुपर्ने अवस्था उत्पन्न भएको जनाउँदै आफू सुरक्षित रहंँदै जितिया पर्व मनाउन आह्वान समेत गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *