नेकपाको बैठकमा मन्त्रिपरिषद पुनर्गठनबारे छलफल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा मन्त्रिपरिषद् पुनर्गठनबारे नीतिगत छलफल भएको छ । पार्टी एकीकरणपछि आइतबार पहिलो पटक पेरिसडाँडामा बसेको सचिवालय बैठकले मन्त्रिपरिषद् पुनर्गठनको विषयमा नीतिगत छलफल गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । मन्त्रिपरिषद् पुनर्गठनका विषयमा विभिन्न कोणबाट छलफल भए पनि व्यक्तिको नाम भने टुंगो नलागेको उनले बताए । नेकपाको अर्को बैठक सोमबार दिउँसो १ बजे बस्ने गरी आइतबारको बैैठक स्थगित भएको प्रवक्ता श्रेष्ठले बताए । बैठकले पार्टीको स्थायी कमिटीको निष्कर्ष र निर्णय कार्यान्वयन प्रक्रियामा लाने विषयमा छलफल चलाएको उनले बताए । यस्तै बैठकमा पार्टीको सांगठनिक एकीकरणको विषयमा समेत छलफल भएको छ । संगठन विभाग, स्थायी समिति र केन्द्रीय समितिको पदपूर्ति र केही कारबाहीका विषयमा छलफल भएको प्रवक्ता श्रेष्ठले बताए । विविध एजेन्डामा केन्द्रीय सदस्यलाई नियमित रुपमा आर्थिक सहयोग गर्ने, कम्युनिस्ट पार्टीको सिद्धान्त अनुसार पूर्णकालीन कार्यकर्तालाई कुनै न कुनै सहयोग गर्ने र संघीय संसदका सदस्यको बैठक भत्ता लगायत विषयमा छलफल भएको श्रेष्ठले जानकारी दिए । सोमबार बस्ने बैठकले यी एजेन्डालार्ई पूर्णता दिने श्रेष्ठको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *