डा.केसीको स्वास्थ्य अवस्था तलमाथि भए त्यसको मूल्य सरकारलाई भारी हुनेछः शाही

काठमाडौं । नेपाली कांग्रेस जुम्लाका युवा नेता लक्ष्मण शाहीले स्वास्थ्य शिक्षामा हरेक नागरिकको समान पहुँच र उपस्थितिको सुनिश्चितताको माग राख्दै १९औं पटक अनशन बसेका डा. गोविन्द केसीलाई स्थानान्तरण गर्न माग गरेका छन् । गत भदौ २९ गतेदेखि जुम्लाको रानिचौरस्थित बाबिरामष्टा मन्दिर परिसरमा जारी केसीको सत्याग्रहप्रति ऐक्यवद्धता जनाउँदै नेता शाहीले सरकराको गम्भीर ध्यानाकर्षण गराएका छन् । साथै नेता शाहीको नेतृत्वमा सत्याग्रह स्थलमा हस्ताक्षर कार्यक्रम शुरु गरिएको छ। स्वास्थ्य र शिक्षा क्षेत्रको सुधारका निम्ति आफ्नो जीवनको प्रवाह नगरि न्याय नपाएका लाखौं नागरिकको आवाजलाई बुलन्द गरिरहेका केसीलाई नेता शाहीले नेपाली जनताका भरोशाका एक खम्बाको रुपमा चित्रण गरेका छन् । नेता शाहीले डा. केसीले उठाएका मागहरु जनपक्षीय र जायज भएको दाबी गर्दै सरकारलाई तत्काल उनका मागहरु सम्बोधन गर्न आग्रह गरेका छन् । उनले भने, ‘डा. केसीले समतामूलक, भ्रष्टाचाररहित र न्यायपूर्ण समाजका लागि राखेका मागहरू आफूलाई समाजवादी भन्ने कम्युनिष्ट सरकारको आफ्नै एजेण्डा हुनुपर्ने हो । तर, विडम्वनाको कुरा सामान्य अवस्था होस् या अहिले कोभिड १९ को असामान्य अवस्थामा सरकार भ्रष्टाचार, नातावाद र कृपावादमा मात्र होइन लोकतन्त्र र संविधानकै धज्जी उडाउने गरि चोर बाटोबाट नियुक्ति र मनोनयन गर्नमा व्यस्त छ । यस्तो अवस्थामा डा. केसीको स्वास्थ्य तलमाथि भयो भने त्यसले जनताको धैर्यताको बाँध टुटाउने छ र त्यसको मूल्य सरकारका लागि भारी हुनेछ ।’ त्यस्तै यस अघिका अन्य सत्याग्रहमा धेरै दिनसम्म स्वस्थ देखिने डा.केसीको स्वास्थ्य यो पटक सत्याग्रहको ६ दिनमैँ ‍नाजुक बन्दै गएको चिकित्सकहरूले बताएका छन् । उनलाई तुरून्तै सुविधासम्पन्न अस्पतालमा स्थानान्तरण गर्नुपर्ने चिकित्सकहरूको सुझाव छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *