पशुपतिनाथ मन्दिर खुला गर्ने तयारी

काठमाडौं । पशुपति क्षेत्र विकास कोषले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर पशुपतिनाथ मन्दिर खुला गर्ने तयारी गरेको छ । कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले गत चैत ११ गतेदेखि लकडाउन जारी गरेसँगै पशुपति मन्दिरमा दर्शनका लागि भक्तजनलाई प्रवेश निषेध गरिएको छ । करिब ६ महिनापछि दर्शनार्थीहरूको सुविधा र स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड पालना गर्दै मन्दिर खुला गर्ने तयारी गरिएको कोषले जनाएको छ । मन्दिर खुला भएपछि दर्शन गर्न जाने दर्शनार्थीहरुले सम्पूर्ण स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्नुपर्ने छ । विगतमा दर्शनका लागि खोलिने सम्पूर्ण ढोकाहरु खुला नगरिए पनि पश्चिमद्वार हुँदै भुवनेश्वरीबाट प्रवेश गराउने तयारी भइरहेको कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले जानकारी दिए । उनले भक्तजनले मन्दिरभित्र प्रवेश पाएपनि पूरै मन्दिर परिक्रममा गर्न नपाउने र मुल ढोकाबाट नै दर्शन गरी फर्किनुपर्ने नियम बनाइने बताए । मन्दिर खुला भएपछि पनि विशेष पूजाको व्यवस्था भने तत्काल नगरिने भएको छ । अहिले नित्य पूजा नरोकिए पनि विशेष पूजा र दर्शन गर्न भने रोक लगाइएको छ । सरकारले अन्यक्षेत्र खुला गरेसँगै धार्मिक स्थलहरु पनि सञ्चालन गर्नुपर्ने माग राख्दै केही दिन अघि पशुपति क्षेत्रमा प्रदर्शनसमेत भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *