देशभर १ हजार १५४ कोरोना संक्रमित थपिए

काठमाडौं । काठमाडौं उपत्यकामा ६ सय ७४ सहित नेपालमा थप १ हजार १ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा ९ हजार ५ सय ३३ जनाको पीसीआर परिक्षण गर्दा काठमाडौंमा ५३८, ललितपुरमा ६२ र भक्तपुरमा ७४ सहित १ हजार १ सय ५४ संक्रमित थपिएको जानकारी दिए । यो सँगै नेपालमा कुल संक्रमितको संख्या ६५ हजार २ सय ७६ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार ५ जना कोरोना संक्रमितहरु डिस्चार्ज भएका छन् । योसहित नेपालमा कोरोना संक्रमणबाट मुक्त भइ घर फर्किनेको संख्या ४७ हजार २ सय ३८ पुगेको छ । प्रवक्ता डा. गौतमले संक्रमण निको हुने दर ७२ प्रतिशत रहेको बताए । हाल १७ हजार ६ सय ११ जना सक्रिय संक्रमित रहेका छन् । संक्रमितमध्ये आइसियूमा १ सय ९६ जना र भेन्टिलेटरमा ३१ जनाको उपचार भइरहेको मन्त्रालयले जनाएको छ । देशभर ७ हजार ४ सय ३ जना क्वारेन्टाइनमा रहेका छन् । नेपालमा एकै दिन १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ सय २७ पुगेको छ । सोमबार ११ वटा जिल्लाका ३ महिला र १३ पुरुष गरी १६ जनाको मृत्यु भएको प्रवक्ता गौतमले पुष्टि गरे । झापामा ७२, सुनसरीमा ४९, पर्सामा ८८, भक्तपुरमा ८४ र ६२, काठमाडौंमा ५८ र ७३ वर्षीय पुरुषको मृत्यु भएको छ । यस्तै, मकवानपुरमा १७ वर्षीया महिला र ६८ वर्षीय पुरुष, ललितपुरमा ५८ वर्षीया महिला र ६१ वर्षीय पुरुष, चितवनमा ५५ वर्षीय पुरुष, दोलखामा ५२ वर्षीया महिला, रुपन्देहीमा ६७, बाँकेमा ५० र ५९ वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ । नेपालमा कुल संक्रमितमध्ये मृत्यु हुने दर शून्य दशमलव ७ प्रतिशत छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *