देशभर १ हजार ३५१ कोरोना संक्रमित थपिए

काठमाडौं । काठमाडौं उपत्यकामा ८ सय १७ सहित नेपालमा थप १ हजार ३ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा १० हजार ८० जनाको पीसीआर परिक्षण गर्दा काठमाडौंमा ६ सय ४९, ललितपुरमा १ सय ३२ र भक्तपुरमा ३६ गरी कुल ८ १७ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । यो सँगै नेपालमा कुल संक्रमितको संख्या ७४ हजार ७ सय ४५ पुगेको छ । यस्तै थप ७ सय ४२ जना कोरोना संक्रमितहरु डिस्चार्ज भएका छन् । योसहित नेपालमा कोरोना संक्रमणबाट मुक्त भइ घर फर्किनेको संख्या ५४ हजार ६ सय ४० पुगेको छ । कोरोना निको हुने दर ७३.१ प्रतिशत रहेको प्रवक्ता गौतमले बताए । हाल देशभर १९ हजार ६ सय २४ सक्रिय कोरोना संक्रमित रहेका छन् । संक्रमितमध्ये दुई सय २५ जनाको आइसियू र ३१ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ । यस्तै देशभर ८ हजार ६ सय ९५ संस्थागत आइसोलेशन र १० हजार ९ सय २९ जना होम आइसोलेशनमा रहेका छन् । यसैबीच, नेपालमा आज थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ४ सय ८१ पुगेको छ । ४ वटा जिल्लाका २ महिला र २ पुरुष गरी ४ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । सुनसरीमा ३८, भक्तपुरमा ५१ वर्षीया महिला, बाँकेमा ४७ र गुल्मीमा ३४ वर्षीय पुरुषको मृत्यु भएको छ । नेपालमा कुल संक्रमितमध्ये मृत्यु हुने दर शून्य दशमलव ६५ प्रतिशत रहेको छ ।
[Sassy_Social_Share]

Leave a Reply

Your email address will not be published. Required fields are marked *