ट्राफिक सचेतनाको लागि सांगीतिक डमी

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक सचेतना अभिवृद्धिको लागि सांगीतिक डमी अभियान शनिबारदेखि सुरु गरेको छ । महानगरीय प्रहरी कार्यालयका प्रमुख डीआईजी विश्वराज पोखरेलले शनिबार एक कार्यक्रमबीच उक्त अभियान सुरु गरेका हुन् । सडक शिक्षा कार्यक्रमलाई प्रभावकारी बनाइ सडक सभ्यता अभिवृद्धि गर्न र सडक दुर्घटना न्यूनीकरण गर्नका लागि गत भाद्र १६ गतेदेखि यस महाशाखाले काठमाडौं महानगरपालिकाको सहयोगमा काठमाडौ उपत्यकाको विभिन्न सडक छेउमा ४५ वटा ट्राफिक डमी राखिसकेको छ । सो अभियानलाई अझ थप प्रभावकारी बनाउन तथा ट्राफिक नियम, सडक अनुशासन र सडक सचेतना अभिवृद्धि गर्न आजदेखि सांगीतिक डमी अभियान महाशाखाले सुरु गरेको हो । ट्राफिक महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालले सङ्गीतका माध्यमबाट ट्राफिक नियम सिकाउँदा चालक र यात्रुले मनमा छिटो र सजिलोसँग लिने तथा त्यसलाई तत्काल व्यवहारमा लागू गर्ने भएकोले यो अभियान सुरू गरिएको बताए । उनका अनुसार सडक प्रयोगकर्ताहरू सर्वसाधारण र चालकलाई ट्राफिक नियम पालनामा जागरुक बनाउन चोक चोकमा डमी राखेर ट्राफिक सचेतनामुलक गीतहरु बजाउँदै जनचेतना जगाइने छ । उक्त कार्यक्रममा ख्यातिप्राप्त राष्ट्रिय कलाकार मदनकृष्ण श्रेष्ठ, हरिवशं आचार्य, दिपाश्री निरौला, जितु नेपालले आफ्ना प्रस्तुति राखेका थिए । कार्यक्रममा महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दिपक थापा, कामनपाका सहरी सुशासन विभाग प्रमुख हरि कुँवर, सामाजिक अभियान्ता योङजोम शेर्पा, राधा पोख्रेल तथा महाशाखाका प्रहरी अधिकृत, जवानहरूको उपस्थिति रहेको थियो । महाशाखाले ख्याति प्राप्त व्यक्तित्व र राष्ट्रिय कलाकारहरूको स्वरमा विभिन्न ट्राफिक सन्देश एवम ट्राफिक गीतहरु समावेश गरी अडियो क्लिप तयार गरेको छ। सो ट्राफिक सन्देश भएको अडियो क्लिपका माध्यमबाट आम सडक प्रयोगकर्तालाई लक्षित गरी उपत्यकाको भिडभाड हुने मुख्य ५ वटा चोकहरु बानेश्वर, कोटेश्वर, रत्नपार्क शान्तिवाटिका, कंलकी र गोगवु नयाँ बसपार्कमा डमीको सहायतामा अडियो बजाएर सचेतना दिइनेछ । दैनिक बिहान ३ घण्टा र बेलुका ३ घण्टा पिक आवरको समयमा यो कार्यक्रम सञ्चालन गरिनेछ । प्रत्येक आधा घण्टामा कम्तिमा ५० जना सडक प्रयोगकर्ताहरू लाभान्वित हुने र दैनिक ३ हजारभन्दा बढीले ट्राफिक शिक्षा प्राप्त गर्ने अपेक्षा महाशाखाले लिएको छ । यसरी १ महिनामा १ लाख सडक प्रयोगकर्तालाई सचेतना दिने यस कार्यक्रमको लक्ष्य रहेको छ ।
[Sassy_Social_Share]

Leave a Reply

Your email address will not be published. Required fields are marked *