काठमाडौं। के तपाईं विवाहका लागि केटा वा केटीको खोजीमा हुनुहुन्छ? अथवा तपाईले खोजे जस्तो वर वा वधू नपाएर हैरानी पाइरहनु भएको छ? यदि त्यसो हो भने अब तपाईंले तनाव लिनु पर्दैन। अब तपाईँले घरमै बसीबसी उपयुक्त वर वा वधू खोज्न सक्नुहुनेछ।
हाफफूल टेक्नोलोजीले विवाहका लागि केटा वा केटी खोज्न सहयोग होस् भन्ने हेतुले ‘पञ्चेबाजा’ एप ल्याएको छ। यस एपबाट तपाईंले आफ्ना छोराछोरी वा अन्य कोही आफन्तका लागि कस्तो वर वा वधू खोज्न चाहानु भएको सोहीअनुसार खोज्न सक्नुहुनेछ। यदि तपाई आफैं पनि केटा वा केटीको खोजीमा हुनुहुन्छ भने यो एपकै माध्यमबाट खोज्न सक्नुहुनेछ। विश्वमा यस प्रकारका धेरै एपहरु प्रयोग हुने गरेका छन्। नेपालमा पनि केही अमेरिकन डेटिङ एप टिन्डर, भारतीय एप साथी लगायतका एपहरु प्रयोग हुने गरेका छन्।
तर यी एपहरुभन्दा पनि थप परिस्कृत र उपयोगी एप हाफफूलले ल्याएको हो। गत दशैंअघि औपचारिक रुपमा सार्वजनिक गरिएको यस एपबाट भने डेटिङमात्रै नभई जीवन साथी नै खोज्न सकिने छ। आफूले चाहेजस्तो वर वा वधू खोज्न सहज बनाउने उद्देश्यले नै एप ल्याइएको कम्पनीका संस्थापक सञ्चालक सन्दिप पौड्याल बताउँछन्।
यो एपले विवाह गर्न केटालाई केटी र केटीलाई केटा खोजिदिन भूमिका खेल्नेछ। नेपाली सामान्य अर्थमा भन्नुपर्दा यसले लमीको काम गरिदिने सञ्चालक पौड्याल बताउँछन्।
कसरी प्रयोग गर्ने?
यो एप एन्ड्रोइड र आईओएस दुवैमा उपलब्ध रहेको छ। प्लेस्टोर वा एप स्टोरमा गएर ‘पञ्चेबाजा’ एप डाउनलोड गरिसकेपछि तपाईंले आफ्नो प्रोफाइल बनाउन सक्नु हुनेछ। तस्बिरसहितको प्रोफाइल बनाएपछि तपाईंले खोजेको पार्टनरको समुदाय, शैक्षिक योग्यता, जागिर आदिका विवरण उल्लेख गर्नुपर्नेछ।
फेक प्रोफाइल नबनोस् भनेर अरु फोटोपछि सेल्फी फोटो पनि एपले अपलोड गर्नुस् भन्नेछ। सेल्फी र अन्य फोटो मिलेन भने एपले ‘रातो’ संकेत गर्नेछ। जसलाई शंस्कास्पद मान्न सकिनेछ। सेल्फी र अन्य तस्वीरहरु मिलेको अवस्थामा भने यो फेक होइन भनेर ‘हरियो’ चिन्ह देखिनेछ। झुक्याउनका लागि प्रोफाइल बनाउनबाट यसले रोक्नछ। भविष्यमा अझ धेरै सुरक्षा सतर्कता बनाउने कम्पनीको तयारी छ।
प्रोफाइल बनिसकेपछि तपाईंले चाहेको सम्भावित को को हुनुहुन्छ, उनीहरुलाई देखाउनेछ।
अहिले एपमा मात्रै रहेको र केही महिनाभित्रै यसलाई वेबमा पनि उपलब्ध गराउने कम्पनीको तयारी छ। पछिल्लो समय प्रविधिको प्रयोग बढ्दै गएको र इन्टरनेटको पहुँच पनि गाउँगाउँमा पुगिसकेकाले यो यो एप नेपालीहरु माझ लोकप्रिय हुन सक्ने कम्पनीको अपेक्षा छ।