पृथ्वीनारायण शाहलाई आधुनिक चस्माले नहेरौं

धनराज वास्तविक

काठमाडौँ। आजकै दिन हो पृथ्वीनारायण शाहले खण्डित रुपमा रहेका ५२ वटा भन्दाबढि स-सना राज्यहरुलाई एकीकरण गरेर आधुनिक नेपाल निर्माण गरेको। आजकै दिनमा आधुनिक नेपालका निर्माता पृथ्वीनारायणलाई लिएर नेपाली समाज विभक्त भएको देखिन्छ। तर, यो आवश्यक भने होईन। यो त अनावश्यक किचलो हो। कुनै पनि परिवर्तमा केही क्षती हुन्छ। कम्जोर पक्षमाथि दबाब पर्छ। शक्तिशालीले दबाउन खोज्छ। भनिन्छ नि,‘ध्वंश नभइ, परिवर्तन हुँदैन।’ परिर्वतनको एक बिशेषता हिँसा पनि हो।

तथापी शाहको स्थानमा अरु कोही भएको भए पनि उसले नै आधुनिक नेपाल निमार्ताको उपमा पाउने थियो भन्ने कुरामा दुईमत नहोला। आजका मानिससँग इतिहासलाई हेर्ने आधुनिक चस्मा छ। इतिहासलाई आधुनिक चस्माले हेर्दा पक्कै पनि केही न केही कम्जोरी र अन्यायहरु देख्न सकिन्छ।

यही कम्जोरीका कारण पृथ्वीनारायणलाई बिबादमा तान्ने काम भएको छ। कतिले पृथ्वीनारायणलाई युग पुरुष भन्छन्। केही पक्ष उनलाई गालि गर्नेमा उत्रेका देखिन्छन्। अर्को तर्फ राज्यले पनि उनको योग्दान, उनले अपनाइएको युद्ध कौशलको बारेमा सहि मुल्याङ्कन गर्न सकेको छैन्। अर्को अर्थमा भन्दा उनलाई अध्ययन गर्न सकेको छैन्।

आधुनिक नेपालका निर्माता पृथ्वीनारायणको बारेमा अध्ययन गर्न नयाँ नेपालका शासकसँग समय छैन्। या त उनीहरुले यो काम गर्दैनन्। उल्टै कुनै सरकारले उनको जन्मदिनलाई एकता र मेलमिलापको रुपमा सार्वजनिक बिदा दिन्छ। अर्को सरकार आउछ र त्यसलाई बदर गर्छ। राज्यको यस प्रकारको व्यवहारले पृथ्वीनारायणलाई बिबादमा तान्ने काम गरेको छ।

को हुन पृथ्वीनारायण शाह?

पृथ्वीनारायणकै कारण नेपालमा २४० वर्षसम्म जहानियाँ शाही सरकारले निरन्तरता पाएको र त्यस निरंकुशताको अन्त्यका लागि १७ हजार मानिसले जीवन बलिदानी दिनु परेको तर्क गर्नेहरु पनि छन्। यस्ता तर्कहरुमा आंशिक सत्यता छ। उनकै कारण नेपाल केन्द्रीकृत सामन्ती राजतन्त्रात्मक राज्यसंरचना अन्तर्गत शासित हुन पुगेको पनि हाे। तर, आरोप जे भए पनि एउटा सत्य के हो भने पृथ्वीनारायाणले तत्कालिन अवस्थामा आधुनिक नेपाल निर्माण नगरेका भए आज विश्वमान चित्रमा एक टुक्रा जमिनको नाम नेपाल रहने थिएन। यति ठोकुवा गर्न सकिन्छ।

राजनीतिक विश्लेषक गुणराज लोहनीका अनुसार पृथ्वीनारायण कुलमण्डल खानका सन्तान थिए। कुनै समयमा कुलमण्डल खानले दिल्लीका सम्राटलाई खुसी पारेका थिए। दिल्लीका सम्राटलाई खुसी पारेकाले उनले कुलमण्डल खानलाई शाहको उपाधि दिएको इतिहासमा पढ्न पाइन्छ। कुलमण्डलका सातवटा छोरा थिए। लम्जुङेहरूले बिन्तीभाउ गरेर कुलमण्डलको माइलो छोरा रत्न शाह, जो इतिहासमा कालु शाहका नामले चिनिच्छन्, लाई राजा बनाउन लिएर गएका थिए। तर, त्यहाँका शेसान्तहरूले कालु शाहको हत्या गरिदिएका थिए।

कालुको हत्यापछि लम्जुङेहरू कुलमण्डलसँग अर्को छोरा पनि राजा बनाउनका लागि माग्न गएका थिए। आफ्नो माइलो छोरोको हत्या भएपछि कुलमण्डललाई कान्छो छोरो पठाउन मन लागेको थिएन। तर, लम्जुङेहरूले हुनेवाला राजाको सुरक्षाको यथोचित व्यवस्था गर्ने आश्वासन दिएपछि कुलमण्डलले कान्छो छोरा यशोब्रश्म शाहलाई लम्जुङ पठाएका थिए। यशोब्रह्म शाहका दुईवटी श्रीमती थिए, वसन्तावती र चम्पावती। वसन्तावतीबाट नरहरि र नरपति जन्मिएका थिए भने कान्छी श्रीमती चम्पावतीबाट द्रव्य शाह जन्मिएका थिए।

यशोब्रह्म शाहलाई जसरी लम्जुङमा राजा हुन ल्याइएको थियो, त्यसैगरी द्रव्य शाहलाई राजा बनाउन लिगलिगकोट र गोरखा लगिएको थियो। तिनै द्रव्य शाहका उत्तराधिकारीहरू क्रमशः पुरन्दर शाह, छत्र शाह, राम शाह, डम्बर शाह, कृष्ण शाह, रुद्र शाह, पृथ्वीपति शाह, नरभूपाल शाहहरू गोरखाका राजा भए। तिनै नरभूपाल शाहका छोरा पृथ्वीनारायण शाहले नेपालको विस्तार अभियान सुरु गरेका थिए । प्रोफेसर ढुण्डीराज भण्डारीका अनुसार, “भारतको मेवाड जिल्लाको चित्तौडगढ भट्टारक ऋषिराज राणाजीको ५३ औँ पुस्ता पृथ्वीनारायण शाह हुन्। पृथ्वीनारायण शाह, उनका कान्छा छोरा बहादुर शाह, प्रतापसिंह शाहका छोरा रणबहादुर शाहका मुख्तियार अनिसान बाग महलमा बस्ने भीमसेन थापाको योजनामा अमरसिंह थापा (बुढा), भक्ति थापा, बलभद्र कुँवर, उजिरसिंह थापालगायतकाले नेपाललाई पूर्वमा टिस्टा र पश्चिममा काँगडासम्म विस्तार गरेका थिए।’

तत्कालीन गोरखा राज्यमा विसं १७७९ पुस २७ गते जन्मिएका शाह २० वर्षको उमेरमा राजा बनेका थिए। साना राज्यको एकीकरण अभियानमा लागेका शाहले काठमाडौं उपत्यकाका तीन राज्यसहित अन्य राज्यलाई एकीकरण गरेका थिए।

उनको मृत्यु ५२ वर्षको उमेरमा नुवाकोटको देवीघाटमा भएको थियो। उनको योग्दानको बारेमा केही मानिसहरु एकमत छैनन् भने उनको मृत्युको कारणबारे इतिहासकारहरू एकमत छैनन्। कोही बाघको आक्रमणमा परेर मरे भन्छन्। कोहीले शरिरमा फोका निस्केर मरेका हुन् भन्छन्।

नेपाल एकीकरणको उद्देश्य लिएर राज्य विस्तारमा लागेका पृथ्वीनारायण शाहले विसं १८०१ आश्विन १५ गते नुवाकोट विजय गरेर उपत्यका प्रवेश गरेका थिए। उपत्यका रहेका मल्ल राजाहरूद्वारा शासित तीनवटा राज्यलाई आफ्नो राज्यमा मिलाउन सफल भए।

त्यसअघि उनले आफ्नो ससुराली राज्य मकवानपुरलाई समेत आफ्नो राज्यमा मिलाइसकेका थिए। उपत्यका विजयको केही समयपछि नै शाहले आफ्ना पूर्वज द्रव्य शाहले विसं १६१६ सालमा गोर्खा राज्य स्थापना गर्दा कायम गरेको पश्चिमपट्टिको सीमा चेपे मर्स्याङ्दीपारि रहेका चौबीसे राज्यहरूमा आक्रमण गरे।

अनाश्वयक विवादमा तान्ने काम

पृथ्वी जयन्तीमा बिदा दिने वा नदिने भन्ने कुरा प्रमुख होईन। बरु उनको योगदानमाथि ठूलो अध्ययन र अनुसन्धान हुनुपर्ने हो। विसं १८७१ र १८७२ मा हामीले अङ्ग्रेजसँगको युद्धमा तीन खण्डमा एक खण्ड मुलुक गुमाउनु पर्यो। तर, त्यसभन्दा धेरै अघि पृथ्वीनारायण शाह कसरी सफल भए ? त्यो युद्ध कौशलको बारेमा एक मिनेट सोच्ने र अध्ययन गर्ने फुर्सद कसैसँग छैन्।

त्यसो भन्दैमा उनको स्तुतिगान गर्नुपर्छ भन्ने होइन। सत्य तथ्यको खोजी गरेर आगामी दिनलाई समेत शिक्षा दिनेगरी अध्ययन हुनुपर्छ भनेको हो। विसं १८२४ मा इस्ट इन्डिया कम्पनीले किन्लकको नेतृत्वमा पठाएको फौजलाई सिन्धुलीगढीमा कसरी हराए र विसं १८१९ मा मिर कासिमको फौजलाई हराउन कसरी सफल भए भन्नेबारे अध्ययन हुनै सकेको छैन ।

उनले ती दुवै फौजलाई हराउन नसकेको भए नेपाल अहिलेको अवस्थामा हुने थिएन्। ती युद्ध जित्न उनी कुन कारणले सफल भए भन्ने अध्ययन गर्नेतर्फ हामी लाग्नुपर्ने हो।

नोट:-यो सामग्री २०७५ साल पुस २७ गते रिपोर्टनेपाल डटकममा प्रकाशित छ। यसलाई पुनः प्रकाशित गरेका हौं। – शनिबार खबर परिवार

Leave a Reply

Your email address will not be published. Required fields are marked *