दुर्घटना

दोलखामा कारागारभित्रै कैदीकाे मृत्यु, आत्महत्याकाे आशंका

दोलखा – दोलखामा मंगलबार एक कैदी कारागारभित्रै मृत अवस्थामा भेटिएका छन् । कारागारको शौचालयभित्र इजारजस्तो देखिने डोरी घाँटीमा पासो लगाएकाे अवस्थामा जिरी नगरपालिका वडा नम्बर-९ का ३८ वर्षीय तस्बिर तामाङ भेटिएका हुन् । शौचालय गएका तामाङ दिउँसो १२ः४५ बजे शौचालयभित्र मृत अवस्थामा फेला परेको जिल्ला कारागार दोलखाका निमित्त प्रमुख मित्रबन्धु तिवारीले जानकारी दिनुभयो ।

मंसीर १० गते घरायसी विवादमा आग्लोले प्रहार गर्दा ३३ वर्षीया श्रीमती राममाया तामाङको ज्यान गएपछि मृतक तामाङलाई मंसिर १२ गते रामेछाप प्रहरीले काठमाण्डौ जान लागेको अवस्थामा पक्राउ गरेको थियो ।

त्यसपछि मृतक तामाङलाई जिल्ला अदालत दोलखाले पौष ५ गते जिल्ला कारागार दोलखामा पुर्पक्षका लागि थुनामा पठाएको थियो । जिल्ला अदालत दोलखाले मंगलबार मात्रै ज्यानसम्बन्धी कसुर अन्तरगत २५ वर्ष कैद फैसला गरेको थियो । मृतकको शव शौचालयभित्र चुकुल लगाएकै अवस्थामा राखिएको छ । मृतकको आफन्त आएपछि मुचुल्का तयार गरी पोष्टमार्टम गरिने दोलखाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक वासुदेव पाठकले जानकारी दिनुभयो ।

यस अघि माघ १६ गते दोलखा जिल्ला अदालतले श्रीमती हत्या आरोपमा पुर्पक्षका लागी थुनामा पठाएकै रात कालिञ्चोक गाउँपालिका वडा नम्बर ५ लापिलाङका २४ वर्षीय च्याङा शेर्पाले कारागारको शौचालयको झ्यालमा झुण्डिएर आत्महत्या गरेका थिए ।

जिल्ला कारागार दोलखामा पहिलो पल्ट शौचालय भित्र थुनुवाले आत्महत्या गरेपछि बन्दिबाटै नियुक्त गरिने कर्मचारीसहितको आन्तरिक प्रशासनमा कर्मचारी थप गरिएको थियो । यस अघि नाइके, सह नाइके, चौकिदार गरी जम्मा १२ जना राख्ने गरिएकामा थप गरी ३ जना नाइके, १६ जना सह नाइके र १ जना चौकिदार गरी २० जनाको आन्तरिक प्रशासन खडा गरिएको थियो । 

सगरमाथाको बेस क्याम्पमा चार वटा शव भेटिए

काठमाण्डौ – विश्वको सर्वोच्च शिखर सगरमाथा सफाइ अभियानका क्रममा ४ वटा शव भेटिएका छन् । सगरमाथा सफाइ अभियान अन्तर्गत सगरमाथाको बेस क्याम्प पुगेको टोलीले सफाइका क्रममा ४ वटा शव भेटेको हो ।

सगरमाथा सफाइ अभियानमा जुटेको टोलीले सफाइको क्रममा हालसम्म ४ वटा शव भेटिएको जानकारी प्राप्त भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरेले जानकारी दिनुभयो । वैशाख १ गतेबाट सुरु गरिएको सफाइ अभियान सगरमाथाको बेस क्याम्पमा पुगेको छ । 

नेपाल सरकार, खुम्बु पासाङ गाउँपालिका, नेपाली सेना, नेपाल पर्वतारोहण संघ, सगरमाथा प्रदुषण नियन्त्रण समिति र सगरमाथा राष्ट्रिय निकुञ्जको संयुक्त टोलीले गएको वैशाख १ गतेबाट सगरमाथा सफाइ अभियान सुरु गरेको हो । अभियान अन्तर्गत हालसम्म ३ हजार केजी फोहोर संकलन गरिएको र त्यसमध्ये करिब एक हजार केजी फोहोर हेलिकप्टरमार्फत् काठमाण्डौ ल्याइएको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

अभियानले ४५ दिनभित्र सगरमाथाको फोहोर संकलन गर्ने लक्ष्यका साथ काम अघि बढाएको छ । सफाइ अभियानमा १२ जना जनशक्ति परिचालन गरिएको छ । नेपाल पर्यटन बोर्डका अनुसार कार्यक्रम सम्पन्न गर्नका लागि करिब दुई करोड ३२ लाख १६ हजार लाग्ने अनुमान गरिएको छ ।

गुल्मीमा झाडापखालाबाट एक जनाको मृत्यु, अझै नियन्त्रणमा आएन

गुल्मी । मुसिकोट नगरपालिकामा फैलिएको झाडापखालाबाट एक जना बालको मृत्यु भएको छ। गत सोमबारदेखि फैलिएको झाडापखालाबाट वडा नम्बर ४ दजाकोटमा १२ वर्षीय रेसम सिंजालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ। झाडापखला अझै नियन्त्रणमा आउन सकेको छैन। झाडापखलाका कारण बिरामी हुनेको संख्या १६० पुगेको छ।

जसमध्ये दुई जनाको जिल्ला अस्पताल गुल्मी र एक जनाको चितवनमा उपचार भइरहेको गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिए। शनिवार पानीको ल्याव जाँच गर्दा पानीमा कोलीफर्म पाइएको थियो। झाडापखला नियन्त्रणमा नआएपछि विश्व स्वास्थ्य संगठनका दुई जना डाक्टरहरुसहितको टोली दजाकोटमा रहेको मुसिकोट नगरपालिकाका प्रमुख सोमनाथ सापकोटाले जानकारी दिए। बिरामीहरुलाई स्थानीय विद्यालयमा जिल्ला जनस्वास्थ्यका चिकित्सकको टोलीले क्याम्प सञ्चालन गरी उपचार गरिरहेको बताइएको छ। दजाकोटमा पानीलाई उमालेर मात्र पिउने व्यवस्था मिलाएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए।

दुर्घटनामा १२ जना घाइते

ताप्लेजुङ – ताप्लेजुङको पाथीभराबाट फुङ्लिङ आउँदै गरेको पिकअप भ्यान मंगलबार राति दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । घाइते मध्ये तीनजनाको अवस्था गम्भीर छ । पाथीभराको दर्शन गरेर फर्किएका भक्तजन चढेको मे १ ज १४८६ नम्बरको पिकअप भ्यान दुर्घटनामा परेको हो । भ्यानमा १४ जना सवार थिए । २ जना सकुशल रहेका छन् ।

राति सवा १० बजे भ्यान दुर्घटना हुँदा निजगढ नगरपालिका–६ बारा निवासी मोतिमाया अधिकारी, लक्ष्मिमाया सिग्देल र गोमा थापा गम्भीर घाइते भएको ताप्लेजुङ जिल्ला प्रहरी प्रमुख डीएसपी संजयसिंह थापाले बताउनुभयो । दुर्घटनामा घाइते सबै बारा जिल्ला निजगढ नगरपालिकाका रहेका छन् । घाइतेहरुको जिल्ला अस्पतालमा उपचार भैरहेको छ । कच्ची सडक र तीब्र गतिका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ । 

रात्रिबस दुर्घटना : २३ जना घाइते, एक जनाको अवस्था गम्भीर

डडेल्धुरा – मङ्गलबार राति डडेल्धुरामा रात्रिबस दुर्घटना हुँदा २३ घाइते भएका छन् । कैलालीको अत्तरियाबाट बाजुरा जाँदै गरेको ना४ख ६८३६ नंको बस राति २ बजेको समयमा डडेल्धुराको अमरगढी नगरपालिका–११ सल्लाघारी धनघाट नजिकमा दुर्घटना हुँदा २३ घाइते भएका छन् ।

घाइतेमध्ये २२ को अवस्था सामान्य रहेको छ भने एक गम्भीर रहेको प्रहरीले जनाएको छ । गम्भीर घाइते कञ्चनपुर कृष्णपुरकी ६१ वर्षीया शान्ति दियाललाई थप  उपचारका लागि धनगढी लगिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । अन्यको डडेल्धुरा अस्पतालमै उपचार भइरहेको बताइएको छ । बस अनियन्त्रित भएर दुर्घटना भएको हुनसक्ने प्रहरीले जनाएको छ । नयाँ वर्ष तथा विशु पर्व मनाउन घर फर्केका यात्रु दुर्घटनामा परेका हुन् ।

चट्याङ लागेर एकजनाको ज्यान गयो, १६ जना घाइते

डोटी – चट्याङ लागेर अछाममा एकजनाको ज्यान गएको छ भने १६ जना घाइते भएका छन् । सोमबार राती करिब ७ बजेतिर चट्याङ लागेर अछाममा एकजनाको ज्यान गएको अछामका प्रमुख तथा प्रहरी नायव उपरीक्षक जनकबहादुर शाहीले जानकारी दिनुभयो । उहाँका अनुसार चट्याङ लागेर ज्यान गुमाउनेमा पञ्चदेवल बिनायक नगरपालिका ७ बस्ने प्रसाद रावलको १४ वर्षीय छोरा जनक रावल रहेका छन् । 

घरमा बसिरहेको समयमा चट्याङ पर्दा उनको ज्यान गएको हो । चट्याङ लागेर ज्यान गएका रावलको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल अछाम ल्याउने तयारी भैरहेको प्रहरीले जनाएको छ ।

त्यसैगरी जिल्लाको पञ्चदेवल विनायक नगरपालिका, वडा नं ४, ७ र ८ मा सोमबार परेको चट्याङ लागेर अन्दाजी वर्ष ३३ का धर्मेन्द्र रावल, वर्ष २७ का गोविन्द रावल, वर्ष ४५ का धर्म रावल, वर्ष १२ का रमेश रावल, वर्ष २२ की रेतुका रावल, एक वर्षीय बालक विप्लव रावल, वर्ष ५७ की उज्जा रावल, वर्ष १९ की सृजना रावल, वर्ष २३ की धिर्जा रावल, वर्ष २० का रघु रोक्का मगर, वर्ष २२ की कली रोक्का मगर तथा वर्ष १९ की सपना रोक्का मगर घाइते भएको र अन्य तीनजनाको पहिचान खुल्न नसकेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलले जनाएको छ । 

चट्याङ लागेर घाइते भएकाहरुको जिल्ला अस्पताल अछाममा उपचार भइरहेको छ । सोमबार हावाहुरीसँगै आएको असिना तथा परेको चट्याङले सुदूरपश्चिमको अछामलगायत अन्य पहाडी जिल्लामा ठूलो मात्रामा गहुँ, जौ तथा तरकारीलगायतका बालीमा क्षति पुगेको छ । 

धरानमा बस पल्टियाे : ४ जनाकाे ज्यान गयाे

सुनसरी – धनकुटाबाट धरानतर्फ आउँदै गरेको बस धरानको जिरो प्वाइन्टमा दुर्घटना हुँदा ४ जनाको ज्यान गएको छ । ज्यान जानेहरुकाे पहिचान खुलेकाे छैन । ना ६ ख २७१३ नम्बरको बस पल्टिँदा ४ जनाको ज्यान गएको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालयले इटहरीले जनाएको छ ।

बस पल्टँदा च्यापिएर ज्यान गएको ट्राफिक प्रहरीले जनाएको छ । बस पल्टिएर बिजुलीको पोलमा अगाडिपट्टिको भाग ठोकिएको छ । दुर्घटनामा परि घाइते भएका हरुलाई उपचारका लागि बीपी प्रतिष्ठान धरान लगिएको छ ।  दुर्घटनाकाे थप विवरण आँउन बाँकी छ । 

चट्याङ लाग्दा खेतमा काम गरिरहेका श्रीमानको मृत्यु, मृतकका श्रीमती र भाउजु गम्भीर

झापा । हावाहुरीसँगै आएको चट्याङमा परी शनिबार झापमा एक जनाको मृत्यु भएको छ । त्यस्तै गरी दुई जना गम्भीर घाईते भएका छन् । एकै परिवारका उनीहरु खेतमा काम गरिरको अवस्थामा चट्याङ लागेको स्थानीयले बताएका छन् ।

चट्याङ् लाग्दा मेचीनगर नगरपालिका वाडा नम्बर १५ ज्यामिरगढीका ४० बर्षीय प्रकाश राउतको ज्यान गएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिएका छन् ।

बिहान ८ बजेको समयमा चट्याङ लागेर तीनै जना गम्भीर घाईते भएका थिए । गम्भीर अवस्थामा अस्पताल पुर्याईएका प्रकाशको उपचारको क्रममा मृत्यु भएको हो । मृतक राउतका श्रीमती सुनिता राउत र उनकी भाउजु मञ्जु राउतकाे भद्रपुरस्थित ओमसाई पाथिभरा अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको पनि अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

ओखलढुंगामा भीरबाट लडेर एक जनाको मृत्यु

ओलखढुंगा । ओलखढुंगामा भीरबाट लडेर एकको ज्यान गएको छ । सिद्धिचरण नगरपालिका ३ अँधेरी स्थित बरबोटे भीरबाट लडेर नगरपालिका ८ जरंगेका ३१ वर्षीय रामजी गुरुङको ज्यान गएको हो ।

शुक्रबार साँझ अधेरी फुपुको घरबाट फर्कनेक्रममा बरबोटे भीरबाट अन्दाजी ६० मिटर तल खसेर गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यक्रम ओखलढुंगाका प्रहरी निरीक्षक राजिब श्रेष्ठले बताए ।गुरुङको शुक्रबार बेलुका नै भीरबाट लडेर मृत्यु भएको भएपनि स्थानीयले शनिबार (आज) बिहान मात्रै देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

फुपुको घरबाट मादक पदार्थ सेवन गरेर घर फर्कदै गरेका गुरुङको भीरबाट चिप्लिएर मृत्यु भएको प्रहरीको अनुमान छ । घटनाको बिषयमा थप अनुसन्धान भइरहेको र शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल रुम्जाटारमा पठाइएको प्रहरी निरीक्षक श्रेष्ठले बताए ।

रुखमा झुन्डिएको अवस्थामा युवकको शव फेला

तनहुँ । तनहुँको भानु नगरपालिका वडा नम्बर १ हात्तिचौर स्थित रुखमा झुन्डिएको अवस्थामा युवकको शव फेला परेको जिल्ला प्रहरी कार्यलय तनहुले जनाएको छ । सोही वडामा बस्ने २२ वर्षीय विनोद लम्सालको शव फेला परेको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी श्यामु अर्यालले जानकारी दिएका छन् ।

आइतबार देखि घरबाट सम्पर्क बिहिन भएका लम्सालको खोजी मा सोमबार दिउँसो झुन्डिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । युवकको शव पोस्टमार्टमको लागि दमौली अस्पताल लगिएको प्रहरीले जानकारी दिएको छ । घट्नाको बारेमा थप अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ ।

बिशेष समाचार

%d bloggers like this: