सँस्कृति

जनकपुरमा आज होली पर्व मनाइँदै

जनकपुर । जनकपुरमा आज होली पर्व मनाइँदै छ । राजधानी काठमाडौंसहित पहाडि र हिमाली जिल्लामा बुधबार र तराईका जिल्लाहरुमा बिहीबार होली मनाइएको भए पनि जनकपुरमा भने आज मनाइँदै छ ।

१५ दिनसम्मको धार्मिक परिक्रमा सकिएको भोलिपल्ट होली मनाइने परम्परा अनुसार जनकपुरमा तराईका अरु ठाउँभन्दा एक दिन ढिलो होली मनाउने गरिन्छ । होली पर्वका लागि प्रदेश नम्बर २ सरकारले आज पनि सार्वजनिक बिदा दिएको छ ।

आज फागु पूर्णिमा

काठमाण्डाै – फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व बुधबार हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदैछ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ । 

केही वर्ष अघिसम्म उपत्यकामा उत्ताउलो रुपमा मनाइने यो पर्व प्रहरीको सक्रियताका कारण पछिल्लो समय सभ्य बन्न थालेको छ । सडकमा काम विशेषले हिँड्नेलाई इच्छा विपरीत रङ र लोला हान्ने क्रम बन्द हुँदै गएको छ । फागु पर्वको अघिल्लो दिन पनि राजधानीका सडकमा फोहर पानी छ्यापेको देखिँदैन । 

विशेषगरी युवतीलाई लोलामा पानी भरेर एक हप्ताअघिदेखि नै छ्यापेर मनोवैज्ञानिक रुपमा बाहिर निस्कन नसक्ने वातावरण बनाइन्थ्यो । यस वर्ष फागु पर्वको अघिल्लो दिन पनि सहज रुपमा हिँडडुल गर्न सकेको ललितपुर महानगरबाट वसन्तपुर कार्यालयमा आउनुभएकी मनिता महर्जनले सुनाउनुभयो । 

यस पर्वका अवसरमा बुधबार काठमाण्डाैकाे वसन्तपुरमा उपस्थित मानिसले वातावरणलाई नै रङ्गीचङ्गी तुल्याउँदै त्यहाँ गाडिएको चीरलाई विधिपूर्वक ढाली बाजागाजाका साथ टुँडिखेलमा लगी जलाउँछन् । 

चीरमा राखिएका ध्वजापताकाहरू औषधोपचारको काममा आउने विश्वासका साथ लुछाचुँडी गरी लिने र अनिष्ट टर्छ भनी चीरको खरानीको टीका लगाइन्छ । फागुन शुक्ल अष्टमीका दिन वसन्तपुरस्थित गद्दी बैठक अगाडि मैलको रुखलाई रङ्गीचङ्गी ध्वजापताकासाथ सिँगारी गाडिएको चीरमा पूजाआजा गरेपछि फागु सुरु हुन्छ । 

आजै राति टुँडिखेलमा ‘गुरुमापा’ नामक राक्षसलाई इटुम्बहालदेखि कहीँ पनि नबिसाई ल्याइएको दश पाथी चामलको भात र एउटा राँगाको मासु खुवाई सैनिक अस्पतालभित्र रहेको ‘जधु’ नामक धारामा चुठाउने चलन छ । 

त्रेता युगमा दैत्यराज हिरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ भष्म भएकी तर भक्त प्रह्लादलाई आगोले छुन नसकेको कथा यो पर्वसँग जोडिएको छ । 

त्यसै बेलादेखि शक्तिको दुरूपयोग गर्ने पापी प्रवृत्तिकी प्रतीक बनेकी होलिका मारिएको उपलक्ष्यमा होली (फागु) खेल्ने परम्परा चलेको मानिन्छ । यसैगरी द्वापरयुगमा श्रीकृष्ण भगवान्लाई मार्न कंशद्वारा पठाइएकी राक्षसनी पुतनाले आफ्नो विष दलिएको स्तन चुसाउन लाग्दा असफल भई मारिइन् । निजलाई व्रजवासीले जलाई फागु महोत्सव मनाउने परम्परा चलेको पनि धर्मग्रन्थमा उल्लेख गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा.डा रामचन्द्र गौतमले बताउनुभयो । 

राम्रो तरिकाले तयार पारिएका रङ र अबिरले छालाको रोग निवारण गर्ने भएकाले यस्ता रङको प्रयोग गरी फागु खेल्नाले शीतकालमा शरीरमा उत्पन्न कफको विनाश हुन्छ । बालिएको चीरको धुवाँबाट शीतकालका अनेकौँ रोगका कीटाणु निर्मूल हुने हुनाले यो पर्वको आयुर्वेदिक महत्व पनि छ । फागु पर्वका उपलक्ष्यमा परम्परादेखि सरकारले सार्वजनिक बिदा दिंँदै आएको छ । तराई क्षेत्रमा भने यो पर्व पूर्णिमाको भोलिपल्ट मनाउने गरिन्छ । यस वर्ष पनि तराईमा बिहीबार होली मनाइँदै छ । 

यस पर्वका उपलक्ष्यमा आजभोलि रमाइलोका निम्ति गाँजा, भाङ, जाँड–रक्सीजस्ता नशालु पदार्थको सेवन गरी गुन्डागर्दी गर्ने, शरीरमा प्रतिकूल असर गर्ने खालका रासायनिक पदार्थ प्रयोग गर्ने तथा सवारीसाधनमा समेत लोला हिर्काउनेजस्ता विकृति पनि कम हुँदै गएको छ । यस दिन विशेष गरेर भाङ मिसाइएका खानेकुरा खाई विविध रङबाट रङ्गिएर बाजागाजाका साथ नाचगान गर्दै महिला तथा पुरुषका समूह आफ्नो क्षेत्रमा बिहानदेखि साँझसम्म घुम्दै रमाइलो गर्छन् । 

यो चाडमा थकालीहरू रङ्गीबिरङ्गी पोसाकमा सजिएर स–परिवार भेला भई तिर हान्ने प्रतियोगिता गर्छन् । सात दिनसम्म चल्ने यो पर्वमा प्रत्येक दिन आफ्ना दाजुभाइ तथा नातेदार भेला भई मीठामीठा खानेकुरा खाई रमाइलो गरिन्छ । 

फागु पर्व नेपाल र भारतलगायत अन्य देशमा पनि मौलिक तरिकाले मनाउने गरेको पाइन्छ । इटालीमा ‘बेलियाकोनोन्स’ को नामले मनाइने यो पर्वमा एक आपसमा सुगन्धित जल छर्की घाँसको विशेष प्रकारको रङ्गीचङ्गी आभूषण लगाएर खेल्ने गरिन्छ । चीनमा १५ दिनसम्म ‘च्वेज’ नामले यो पर्व मनाइन्छ । यस पर्वमा नयाँ लुगा र गहना लगाउने गरिन्छ । 

अमेरिकामा ‘होबो’ नामले मनाइने यो पर्वमा मानिसहरू विभिन्न प्रकारका हास्यात्मक भेषभूषा लगाई प्रतियोगिताको आयोजना गरी विजयीलाई पुरस्कार दिइन्छ । यसैगरी श्रीलङ्का र इन्डोनेसियाको जाभामा आगोको पूजा गरेर, म्यान्मा र थाइल्यान्डमा पानीको पूजा गरेर, बौद्ध मन्दिरमा भिक्षुहरूलाई दान दिएर, जापान र इन्डोनेसियाको सुमात्रामा नयाँ अन्नलाई नाचगानका साथ स्वागत गरेर, चीनको युनानमा डाइनोसियस देवताको पूजा तथा नाचगान गरेर र इजिप्टमा हास्य, विनोद तथा नाचगान गरी यो पर्व मनाइन्छ । 

रैथाने संस्कृति जोगाउन सहृदयता फागु     

फागु पूर्णिमाका अवसरमा सहृदयता समाज नेपालले ‘सहृदयता होली कार्यक्रम’ आयोजना गर्ने भएको छ । कार्यक्रमको मुख्य आकर्षण मौलिक साङ्गीतिक प्रस्तुुति रहने समाजका अध्यक्ष बलराम प्रजापतिले बताउनुभयो । मैथिली, भोजपुरी, थारु, नेपाल भाषा र नेपाली भाषामा कलाकारले होली विशेष प्रस्तुुति गर्ने छन् ।

समाज, युग निर्माण महिला समाज नेपाल र मैथिल युवा क्लबको संयुक्त आयोजनामा कार्यक्रम नयाँ बानेश्वर शान्तिनगरस्थित ॐ शान्ति चोकमा हुनेछ । नेपालको रैथाने संस्कृति संरक्षणका लागि बिहान ११ बजेदेखि कार्यक्रम सुरु हुनेछ । कार्यक्रममा निःशुुल्क प्रवेशको व्यवस्था गरिएको छ । 

आज ग्याल्बो ल्होसार

काठमाण्डाै – आज ग्याल्बो ल्होसार, शेर्पालगायत हिमाली भेगका बासिन्दाले मनाउँदैछन् । ग्याल्बो ल्होसार मान्ने समुदायले आजको दिन गाउँघर र टोलको बाटोघाटो तथा पानीका श्रोतको सरसफाई, लेनदेनको हिसाब मिलानलगायत काम गरी नयाँ वर्षको स्वागत गर्ने चलन छ ।

नेपालमा तमु, सोनाम र ग्याल्बो गरी तीनवटा ल्होसार मनाउने चलन छ । ग्याल्बो ल्होसारका अवसरमा शुभकामना व्यक्त गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले विविधताले भरिएको नेपाली समाजका चाडपर्व साझा सम्पत्ति भएको बताउनुभएको छ । 

विविधताले भरिएको नेपाली समाजका यस्ता चाडपर्व साझा सम्पत्ति भएको उल्लेख गर्दै उहाँले यसले नेपाल र नेपालीबीच बन्धुत्व र पारस्परिक सम्बन्ध बढाउनाका साथै एकार्काको संस्कृतिको सम्मानसहित आपसी एकता, सद्भाव र सहिष्णुतालाई अक्षुण्ण राख्न सघाउ पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । 

तामाङ समुदायले सोनाम ल्होसार मनाए


काठमाडौं । तामाङ समुदायले आज धुमधामका साथ सोनाम ल्होछार मनाएका छन्। ल्होछारको अवसरमा नेपाल तामाङ घेदुङले टुँडिखेलमा विविध कार्यक्रमको आयोजना गरेको थियो। कार्यक्रममा तामाङ जातिको झाँकी, विविध संस्कृति, भेषभूषा र खानाका परिकारहरु प्रदर्शन गरिएको थियो।

नेवा: पुच:को “नयाँ नाना मीठो खाना”

दशैँ सबैको लागि हो र दशैँमा सबै खुसी रहोस् भन्ने भावनाले प्रेरित भई “दशैँमा सबको चाहना, नयाँ नाना मीठो खाना” मूल नारा सहित नेवा: पुचको आयोजना तथा Hand-in-Hand(HiH) फेसबुक समूहको समन्वयमा धुलिखेल स्थित Help Nepal Networkमा आश्रित २२ बालिकाहरूलाई मिति २०७५ असोज २७ गते शनिबारका दिन नयाँ लुगा बितरण गर्नुका साथै खाना खुवाउने तथा मनोरञ्जनात्मक कार्यक्रम गरिएको छ ।
बालबालिका माझ यसरी सहयोग र खुसी बाँड्ने यो “नयाँ नाना मीठो खाना” कार्यक्रम संस्थाबाट चौथो पटक आयोजना गरिएको हो । आजका कार्यक्रमका संयोजक श्री अर्बिन श्रेष्ठ माकजुबाट प्राप्त जानकारी अनुसार यस अघि कमलपोखरी स्थित श्रीकमल आधारभूत विद्यालय, खुसिबुँ स्थित Child Rights Protection Center तथा कपन स्थित Twin Ottersमा यस कार्यक्रमको आयोजना गरिएको थियो ।
हालैमा खोटाङ स्थित श्री सरस्वती आधारभूत विद्यालयमा पुस्तकालय स्थापना तथा त्यहाँको विद्यार्थीहरूलाई आवश्यक शैक्षिक सामग्री बितरण गरेको नेवा: पुच:ले बिगत ५ बर्ष देखि बिभिन्न सामाजिक कार्यहरू गर्दै आएको छ । उक्त कार्यक्रम प्राय: सबै HiH, फेसबुक समूहको संयोजकत्वमा हुने गरेको संस्थाका अध्यक्ष श्री किशोर लाल जोशीले जानकारी दिनुभयो । संस्थाकै सदस्य तथा फेसबुक समूहका सदस्यहरूबाट आर्थिक सहयोग संकलन गरी यस संस्थाले हालसम्मका सामाजिक कार्यहरू गर्दै आएको छ । आफ्ना सदस्यहरूबाट मासिक रू.१०० संकलन गरी आवश्यक भएका बालबालिकाहरूलाई नियमित रूपमा कापी तथा अन्य शैक्षिक सामग्रीहरू बितरण गर्दै आएको यस संस्थाले बिशेषत बालशिक्षा तथा नेपाली संस्कृति प्रबर्द्धनको क्षेत्रमा आफ्नो कार्य गर्दै आएको छ । आगामी दिनहरूमा पनि यस कार्यहरूलाई निरन्तरता दिने प्रतिबद्धता अध्यक्ष जोशीले व्यक्त गरेका छन् ।

फोटो : ace©किपाgraphy

राष्ट्रपति निवासमा घटस्थापना

काठमाडौँ, २४ असोज  : राष्ट्रपति विद्यादेवी भण्डारीले आज विधिपूर्वक राष्ट्रपति निवासमा घटस्थापना गर्नुभएको छ ।

पञ्चाङ्ग निर्णायक समितिले जुराएको शुभसाइतमै राष्ट्रपतिको उपस्थितिमा जमरा राखिएको राष्ट्रपतिको स्वकीय सहसचिव एवं राष्ट्रपति कार्यालयका पण्डित हेमचन्द्र ढकालले जानकारी दिनुभयो ।

यसैगरी राष्ट्रपति भण्डारीको उपस्थितिमा आजै राष्ट्रपति कार्यालयमा कार्यरत सम्पूर्ण कर्मचारीबीच बडादसैँको शुभकामना आदानप्रदान भएको थियो ।

यसैबीच, राष्ट्रपति भण्डारीले यसपटक पनि विजया दशमीका दिन राष्ट्रपति कार्यालयमा पाल्नुहुने माहानुभावलाई टीका तथा जमरा प्रदान गर्नुहुने भएको छ । विजया दशमीका दिन शुभसाइतमा परिवारजनका साथ टीका, जमरा तथा आर्शिवाद ग्रहणपछि उहाँले राष्ट्रपति कार्यालयमा पाल्नुहुने महानुभावलाई टीका तथा जमरा प्रदान गर्ने पण्डित ढकालले जानकारी दिनुभयो ।

स्वर्गद्वारी आश्रम विकासको पर्खाइमा

म्याग्दी म्याग्दीको प्रमुख पर्यटकीय स्थानमध्येको एक प्राकृतिक सुन्दरता र जैविक विविधताले युक्त टोड्केस्थित प्रशिद्ध धार्मिकस्थल स्वर्गद्वारी आश्रम विकासको पर्खाइमा छ ।मालिका, रघुगंगा गाउँपालिका र बेनी नगरपालिकाको सिमानामा अवस्थित उक्त आश्रम आध्यात्मिक चिन्तनको उपयुक्त स्थान मानिन्छ । प्यूठानमा रहेको प्रशिद्ध धार्मिक स्थल स्वर्गद्वारीको शाखा मानिने यस आश्रममा स्वर्गद्वारी महाप्रभुले तपस्या गर्नुभएको धार्मिक विश्वास छ ।

प्राचीनकालमा विभिन्न ऋषि महर्षीले तपस्या गरेको यस स्थानमा विसं १९३५ मा त्रिशूली बाबाले तपस्या गरेर यहाँ निर्माण गर्नुभएको शिव मन्दिर र धर्मशालालगायतका केही संरचना अहिलेसम्म पनि रहेको उक्त आश्रमस्थित शिव मन्दिरका पुजारी शिवप्रसाद पन्थीले बताउनुभयो । उहाँका अनुसार प्यूठान स्वर्गद्वारी आश्रमका महन्त भागवतानन्द गिरीले यहाँ आएर सात दिनसम्म एउटा खुट्टाले मात्र टेकेर सातदिनसम्म श्रीमद्भागवत् पाठ गर्नुभएको थियो ।त्यसैगरी जन्मेको छैटौँ दिनदेखि आमाको स्तनपान नगर्नुभएका हंशानन्द गिरीले तपस्या गर्नुभएको र त्यसैबेलादेखि यो क्षेत्रलाई स्वर्गाश्रम क्षेत्र भन्न थालिएको उहाँले जानकारी दिनुभयोे ।

विसं १९१६ श्रावण पुत्रदा एकादशीका दिन जन्मनुभएका स्वर्गद्वारी महाप्रभुले लामो समय यहाँ बसेर तपस्या गर्नुभएको थियो । त्यसपछि यस क्षेत्रलाई स्वर्गद्वारी क्षेत्र भनिन थालिएको हो । स्वर्गद्वारी महाप्रभुपछि यहाँ अन्य धेरै ऋषि महात्माले तपस्या गरेका थिए । अठार रोपनी क्षेत्रफलमा फैलिएको स्वर्गाश्रम क्षेत्र धार्मिक र आध्यात्मिक दृष्टिकोणबाट मात्रै होइन, प्राकृतिक र जैविक महत्वका दृष्टिले पनि अत्यन्त सम्भावनायुक्त क्षेत्र मानिन्छ । पहाडको टुप्पोमा घना जंगलकोबीचमा अवस्थित स्वर्गद्वारी क्षेत्रबाट धौलागिरि, अन्नपूर्ण, नीलगिरि, मानापाथीलगायतका हिमाल, दुई दर्जनबढी गाउँहरु देख्न सकिन्छ । यहाँसम्म पुग्नका लागि सडकको पहुँच भएकाले यातायातका साधनबाट पनि जान सकिन्छ ।

यहाँ रहेको शिव मन्दिरमा स्वर्गद्वारी महाप्रभुले लगाउनुभएको खराउ ९काठका चप्पल०, शिवलिङ्ग, शिवजीको मूर्ति, बसाहा, शालिग्राम आदि रहेका छन् । शिवजीको मन्दिरलाई हालसालै मात्र पुरानै संरचनामा पुनःनिर्माण गरिएको छ । यहाँ एउटा धर्मशालामा सात वटा गाई पालिएको छ । मन्दिरमा बिहान बेलुका गाइको दूधले अभिषेक हुने गर्दछ । पुजारीलाई तलब प्यूठानको स्वर्गद्वारी आश्रमले नै दिने गरेको छ ।

अत्यन्त मनमोहक र आत्मशुद्धिका लागि उपयुक्त स्थान हुँदाहुँदै पनि यस क्षेत्रको विकासका लागि सम्बन्धित निकायले कुनै ठोस योजना बनाउन नसक्दा यहाँको सम्पदा ओझेलमा परेको स्थानीय शालिग्राम रिजालले बताउनुभयो । व्यापकरुपमा प्रचारप्रसार गरी यस क्षेत्रको महत्व बुझाउन सक्ने हो भने यो क्षेत्र आध्यात्मिक खोज अनुसन्धानका लागि महत्वपूर्ण क्षेत्र हुने उहाँको भनाइ थियो । यो क्षेत्रको संरक्षणका लागि घेराबार लगाउन र मन्दिरमा आवश्यक पूर्वाधार निर्माण गर्न बजेटको अभाव छ ।

भक्तपुरलाई सांस्कृतिक नगर घोषणा गर्न माग

भक्तपुरलाई सांस्कृतिक नगर घोषणा गर्न माग

 

भक्तपुर, ६ वैशाख (रासस) ः विश्वसम्पदा दिवसका अवसरमा भक्तपुर नगरपालिकाले भक्तपुरलाई सांस्कृतिक नगर घोषणा गर्न सरकारसँग माग गरेको छ । 

भक्तपुर नगरपालिकाले आज आयोजना गरेको कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव एवं सांसद प्रेम सुवालले भक्तपुरलाई सांस्कृतिक नगर घोषणा गराउने विषयमा धेरै पटक अध्ययन र सिफारिश भइसकेको जानकारी दिनुभयो ।

नेपाल सरकारको नवौँ पञ्चवर्षीय योजना एवं अन्तरिम योजनामा समेत यो बिषयलाई समावेश गराएको भए पनि सरकारले हालसम्म घोषणा गर्न ढिलाइ गरेको बताउँदै उहाँले सम्पदा संरक्षणलाई मानव सभ्यताको विकासका रुपमा ग्रहण गरी उचित संरक्षण तथा सम्वद्र्धन गरेर यसलाई नयाँ पुस्तामा हस्तान्तरण गर्नुपर्नेमा जोड दिनुभयो ।

भक्तपुर नगरपालिकाका प्रमुख सुनील प्रजापतिले पुर्खाले स्थानीय सीप, प्रविधि र स्थानीय सामग्रीको प्रयोग गरी बनाइएका उत्कृष्ट कलाकृति अर्थात् सम्पदाको स्याहार, सम्भार र संरक्षण गरी युगौँसम्म जस्ताकोतस्तै राख्न नगरपालिकाले सम्पदा संरक्षणलाई प्राथमिकता दिँदै आएको बताउनभुयो ।

सम्पदा संरक्षणको महत्व नबुझेकालाई ठेक्काको भरमा जिम्मा दिँदा सम्पदा विकृत बन्ने बताउँदै उहाँले भक्तपुरमा स्थानीय जनताको प्रत्यक्ष सहभागितामा उपभोक्ता समितिमार्फत सम्पदा संरक्षणका कार्य भइरहेको जानकारी दिनुभयो ।

ऐतिहासिक र सम्पदाको धनी नगर भक्तपुरबारे नयाँ पुस्तालाई जानकारी दिने हेतुले नगरपालिकाले स्थानीय पाठ्यक्रम तयार गरी विद्यालयमा यसै शैक्षिक सत्रदेखि लागू गरेको पनि नगरप्रमुख प्रजापतिले बताउनुभयो ।

पुरातत्व विभागका पूर्वमहानिर्देशक विष्णुराज कार्कीले ‘पूर्वको रोम’ भक्तपुरका पचपन्न झ्याले दरबार र पाँचतले मन्दिर यसको अनुपम नमूना भएको बताउनुभयो ।

संस्कृतिविद् प्रा डा पुरुषोत्तमलोचन श्रेष्ठले संस्कृति र सम्पदा मर्दा देशै विलुप्त हुने भएकाले सम्पदालाई छोएर नभई हेरेर सम्मान गर्नुपर्नेमा जोड दिनुभयो ।

पुरातत्व कार्यालय भक्तपुरका प्रमुुख मोहनसिंह लामाले विसं २०७२ को भूकम्पपछि भक्तपुर जिल्लास्थित ४६ सम्पदाको संरक्षण योजना कार्यान्वयनमा ल्याएको उल्लेख गर्दै तीमध्ये १३ वटा योजना सञ्चालनमा रहेको र छ वटा योजना सम्पन्न भएको जानकारी दिनुभयो ।
–––

ग्रामीण पर्यटनको सुवास भिजिट चित्लाङ्ग (www.visitchitlang.com)

मुलुककै जेठो राजमार्ग ‘त्रिभुवन राजमार्ग’ मुन्तिर टिष्टुङमा बज्रबाराही मन्दिर नजिकै सडक माथि सबैका आँखा पर्छन । भित्तापट्टि एकनासका घर छन् । ढुँगा, ईंटा र माटोबाट बनेका घरमा टायले छाना । यो सुन्दर गाउँ हो– कुन्छाल।
थाहा नगरपालिका– १, मकवानपुरमा अबस्थित कुन्छालमा २५० घर छन् । सबै घर गोपालीका । गोपाली काठमाडौं उपत्यकाका पुराना बासिन्दा । उनीहरु साँस्कृतिक र प्राकृतिक हिसाबले समृद्ध छन्।

अघिल्लो साता हामी (साइक्लिष्ट दाईहरु देवेन्द्र बस्न्यात र रञ्जन राजभण्डारी र म) त्यहाँ पुगेका थियौं । एक रात दामनमा बसेर भोलिपल्ट कुन्छाल ओर्लिंदा साथमा थिए नगर प्रमुख लबशेर बिष्ट पनि । हामी मध्यान्हमा गाउँ पुग्दा डबलीमा कुन्छाल होमस्टे व्यवस्थापन समितिका अध्यक्ष सानुकाजी, सचिव निरञ्जन, सुनागुठीका नाइके चन्द्रबहादुर, रुपचन्द्र गोपालीसहित एक हुल गाउँले जम्मा भैसकेका थिए । सबैका अनुहारमा उत्साहको दियो धपक्कै बलेको देखियो ।
उनीहरुकै आँखा सामुन्ने छिमेकी गाउँ चित्लाङले पर्यटनबाट मनग्गे आम्दानी गरिसकेको छ । कुन्छाललाई पनि त्यस्तै पर्यटकीय गन्तव्य बनाएर गाउँको अर्थतन्त्र उकास्ने उनीहरुको योजना छ । भाँती पुर्‍याएर पर्यटन विकास गर्न सके कुन्छाल चाँडै चम्किन सक्छ।

चित्लाङ गाउँ नजिकैको कुन्छालमा होमस्टे सुविधा शुभारम्भ गरिएको छ । टिपिकल नेवार बस्तीमा आत्मीयता र मिठो परिकार पाइन्छ।

गाउँको घना बस्ती माथि जंगल छ । पारिपट्टि मिलेका खेतका गरा छन् । एउटै विशाल ढुँगामाथि बसेको बस्ती भएकाले गाउँलाई सितिमिति भुइँचालोले धक्का दिन सक्दैन । गाउँमा चट्याङ समेत नपर्ने नाइके चन्द्रबहादुरले सुनाए। नब्बे साल र अस्ती ७२ सालको भुइँचालोले समेत ठूलो क्षति पुर्‍याएन।

गाउँमा कलात्मक झ्याल ढोकायुक्त घर छन् । नेवार भाषामा लेखिएका केही  शिलालेख पनि छन् । कुन्छालमा एग्रो टुरिजमको संभावना छ । गाउँलेहरु कृषिकर्ममा रमेका छन् । उनीहरु धान, आलु, गहुँ, मकै र सिजनेवल तरकारी फलाउँछन् । भैंसी, कुखुरा र बाख्रा पाल्छन् । नाइके चन्द्रबहादुरका अनुसार केही वर्ष अघिसम्म घरघरै तानमा कपडा बुनिन्थ्यो । अचेल ती तान थन्क्याइएको छ।

गाउँको शिरानमा गणेश मन्दिर छ । कुन्छाल सेरोफेरोमा बज्रबाराही मन्दिर, मनकामना, इन्द्र सरोवर, दामन, चित्लाङ लगायत हेर्न र घुम्न लायक सम्पदाहरु छन् । हिमाल हेर्न मुलाबारी (मनकामना क्षेत्र) हाइकिङ गर्नु पर्छ । त्यहाँ पुग्न गाउँबाट डेढ घन्टा लाग्छ । दामन २२ किमिमा पर्छ भने चित्लाङ ८ किमिमा । माथि सिम भञ्ज्याङमा हिउँ पर्छ ।
गाउँको फेदिमा बज्रबाराही मन्दिर छ । बज्रबाराही शक्ति पिठ । मनोकांक्षा पु¥याइदिने देवीलाई जमिन र जंगलको प्रतिक मानिन्छ । रोग व्याध नलागोस् भनेर मन्दिरमा बध पूजा गरिन्छ । हरेक तीन वर्षमा बुद्ध पूर्णिमाका दिन बज्रबाराहीको रथ यात्रा गरिन्छ भने हरेक १२ वर्षमा बध पूजा।

बज्रबाराही गुठी व्यवस्थापन समितिका अध्यक्ष इन्द्रबहादुर श्रेष्ठका अनुसार बज्रबाराही क्षेत्रका गौखुरेश्वर, उन्मुक्तेश्वर र नन्दीकेशर महादेव मन्दिर धार्मिक पर्यटन गन्तव्य हुन्।

कुन्छालमा दुई रात सजिलै विताउन सकिन्छ । गाउँका दर्जन घरमा होमस्टे सुविधा छ । पाहुनाको डिमाण्ड अनुसार होमस्टे व्यवस्थापन समितिले डबलीमा साँस्कृतिक कार्यक्रम देखाउँछ । त्यसमा हिले नाचका झलक देखाइन्छ । खासमा जनै पूर्णिमाका दिन एक वर्ष कुन्छाल र अर्को बर्ष कुलगाउँमा हिले नाच देखाउने चलन छ । त्यसकै संक्षिप्त रुप पर्यटकलाई देखाइन्छ । नेवार बस्ती भएकाले साथमा लाखे नाच त भइहाल्छ।

कुनै पनि ठाउँ घुमेर फर्किंदा स्थानिय कोसेली ल्याउने बानी बसाल्नु पर्छ । त्यसो भयो भने गाउँमा उद्यमशिलता विकासमा टेवा पुग्छ । कुन्छालबाट गुन्द्रुक, सिजनेवल तरकारी, सन्चाना, किवि र भुइँ स्याउ कोसेली ल्याउनु बेस हुन्छ।

यतिबेला गाउँलेहरु जुर्मुराएका छन् । उनीहरुलाई पर्यटनको बाटो देखाउने अगुवा चाहिएको छ । गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) नेपालको सिफारिसमा सरकारले विश्व पर्यटन दिवस (सेप्टेम्बर २७)का अबसरमा गएको असोजमा तीन वटा गाउँहरु मकवानपुरको कुन्छाल, स्याङ्जाको पित्लेक र धादिङको सलाङलाई गन्तव्य वर्ष घोषणा गरेको थियो ।
त्यस अघि नै स्थानीयले आ–आफ्ना गाउँलाई पर्यटन केन्द्र बनाउन होमस्टे शुभारम्भ गरिसकेका थिए । ‘‘टिपिकल नेवार बस्ती भएकाले युनिक पर्यटन गाउँ बन्न सक्ने देखेर गाउँलेको हौसला बढाउन हामीले कुन्छाल रोजेका हौं’, भिटोफका सहकोषाध्यक्ष कृष्णबहादुर सुवेदी भन्छन्, ‘गाउँमा पर्यटनको प्रचुर संभावना छ।’

सरकारले घोषणा त ग¥यो तर, त्यहाँको पर्यटन पूर्वाधार विकासलाई उसले प्राथमिकतामा राखेको देखिँदैन । सत्य के हो भने घोषणा गर्दैमा मात्रै कुनै पनि गाउँ पर्यटन गन्तव्य बन्दैनन् । त्यसका लागि धेरै पापड बेल्नु पर्छ । पूर्वाधार विकास, तालिम र मार्केटिङ जरुरी हुन्छ । गाउँलेको बलबुतामा मात्र यी सबै काम संभव हुँदैन।

सरकार, तारा गाउँ विकास समिति, पर्यटन बोर्ड, भिटोफ, होमस्टे एशोसियसन जस्ता सरोकारवालाले गाउँलेसँग हातेमालो गर्नु पर्छ । उनीहरुको उत्साह बढाउन भाषण होइन कामै गर्नु पर्छ।

कुन्छालबासीका आँखामा सपना फूलेको छ । पाहुनाको स्वागत गर्ने सपना । उनीहरुको आत्मीय व्यवहार, मिठो खाना र प्राकृतिक एवं साँस्कृतिक सम्पदाले जोकोहीलाई लठ्याउँछ । गाउँका दर्जन घर पाहुना राख्न तम्तयार छन् । तर, उनीहरुसँग मझेरीमा पाहुना कसरी ल्याउने भन्ने आइडिया छैन।

अब के गर्ने त ? सबैभन्दा पहिला होमस्टेलाई व्यवस्थित गर्न सघाउने । होमस्टे निर्देशिका अनुसार पाहुना कोठा, चर्पी र बाथरुम लगायत सबै कुराको व्यवस्थापन मिलाउने । अनि अतिथि सत्कार, कुकिङ आदिको तालिम दिलाउने । र, मिडिया, सामाजिक सञ्जाल लगायत विभिन्न माध्यमबाट मार्केटिङ गर्ने । गाउँको युट्युव  भिडियो, ब्रोसर र पोस्टर बनाउने । राजमार्गमा आकर्षक होर्डिङ बोर्ड पनि राख्ने।

होमस्टे सञ्चालकलाई पर्यटकीय गाउँ घुमाउन सके प्रत्यक्ष हेरेर र बुझेर उनीहरुले धेरै कुरा सिक्न सक्छन् । कुन गाउँ घुमाउने त ? नेपालको पहिलो होमस्टे गाउँ स्याङ्जाको सिरुबारी घुमाउन पाए राम्रो हुन्छ । नेपालमै होमस्टे सुविधा सहितको पहिलो पर्यटन गाउँ हो सिरुबारी।

भारतीय सेनाका रिटायर्ड क्याप्टेन रुद्रमान गुरुङको परिकल्पना एवं अगुवाईमा सिरुबारीलाई २०५४ असोजमा पर्यटन गाउँ घोषणा गरिएको थियो । त्यहाँको होमस्टे प्याकेज आकर्षक छ । कुन्छालबासीलाई थाहा नगरपालिकाले नै सिरुबारी भ्रमणको चाँजोपाँजो मिलाउने हो कि मेयरज्यू !

कुन्छालमा पर्यटनको घाम झुल्किसक्यो । त्यसबाट स्थानीयले बढी भन्दा बढी फाइदा लिन सक्नु पर्छ । साँच्चै गाउँलेका आँखा पर्यटक आउने बाटो कुरीबसेका छन् । अब भन्नुस् तपाइँ कहिले जानु हुन्छ कुन्छाल ?
कसरी पुग्ने ः काठमाडौंको थानकोट गोदामबाट चन्द्रागिरी भञ्ज्याङ हुँदै कुन्छाल ३१ किमि । काठमाडौं फर्पिङ कुलेखानी हुँदै कुन्छाल ५५ किमि । काठमाडौं नौबिसे हुँदै बाइरोडबाट कुन्छाल ६५ किमि।

होमस्टे प्याकेज 
सानुकाजी गोपाली
अध्यक्ष, कुन्छाल होमस्टे व्यवस्थापन समिति
हाम्रो गाउँका एक दर्जन घरमा होमस्टे सुविधा छ । होमस्टे प्याकेजको नेपालीले १२ सय र विदेशीले १५ सय रुपैयाँ तिर्नु पर्छ । प्याकेजमा वेलकम ड्रिंक्स, डिनर, बेड र ब्रेकफास्ट सुविधा हुन्छ । हामी पाहुनालाई लोकल उत्पादन खुवाउँछौं । पाहुनाको माग अनुसार साँस्कृतिक कार्यक्रम पनि देखाउँछौं । त्यसको छुट्टै रकम लाग्छ ।

Source :Nagarik News

यस्तो छ होलीमा प्रहरीको सुरक्षा योजना

 

काठमाडौँ — होली पर्वलाई शान्त, सभ्य, भव्य तथा उल्लासमय वातावरणमा सम्पन्न गर्न गराउन सबैमा महानगरीय प्रहरीले अनुरोध गरेको छ ।

 

केही वर्षयता होलीको मौका छोपेर हुने अपराधिक घटनाहरु कम हुँदै आइरहेकामा यसवर्ष पनि सुरक्षा व्यवस्था कडा पारिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका एसएसपी तथा प्रवक्ता पुर्णचन्द्र जोशीले बताए ।
जबरजस्ती लोला हान्ने, उच्छृखंल तथा शंकास्पद गतिविधि गर्नेलाई तत्कालै कारबाही गरिने हुने उनको भनाइ छ । ‘आपसी सद्भाव कायम गर्दै रमाइलो गर्न पाउने छुट सबैलाई छ, तर सार्वजानिक स्थलमा इच्छा विपरित कार्य गर्नेलाई तत्कालै कार्यबाही गरिन्छ,’ उनले भने । हटलाइन नं. १०० मा तत्काल सम्पर्क गर्न सकिकने उनले बताए ।
मोबाइल टोली, पिकेड, क्युआरटी, रिजर्भ, ट्राफिक मोबाइल, सिभिल गरी उपत्यका भरी करिव तीन हजार सुरक्षाकर्मीहरु खटाइने भएका छन् । मेला, महोत्सवहरुमा पुर्वजानकारी अनुसार सुरक्षाकर्मी खटाइनेछ । शंकास्पद स्थलहरुमा बिशेष सुरक्षाकर्मीहरु खटाइने भएको छ ।

बिशेष समाचार

%d bloggers like this: