धर्म / शास्त्र

उदाउँदो सूर्यलाई अघ्र्य दिई छठ समापन

काठमाडौँ, २८ कात्तिक : आज बिहान उदाउँदो सूर्यलाई पूजाआजासहित अघ्र्य दिई चार दिन लामो छठ पर्वलाई समापन गरिएको छ ।

कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने पर्वको मुख्य दिन मङ्गलबार अस्ताउँदो सूर्यलाई पूजाआजासहित अघ्र्य दिइएको थियो । उपत्यकाका गुह्येश्वरी, कमलपोखरी, गहनापोखरी, शङ्खमूल, थापाथली, वाग्मती, विष्णुमती र नख्खु नदी किनारका अन्य स्थानमा पनि छठीघाट निर्माण गरी सूर्यदेवको आराधना र उपासना गर्न भक्तजनको भीड लागेको थियो ।

गुह्येश्वरी मन्दिरअघिको वाग्मतीबाट गौरीघाटसम्मको नदी किनारको दायाँबायाँ बेहुलीझैँ सिङ्गारेर छठ घाट बनाइएको थियो । लाखौँ भक्तजनले मङ्गलबार बेलुकी यहाँ अस्ताउँदो सूर्यलाई अघ्र्य दिएका थिए । तिनै भक्तजनले आज उदाउँदो सूर्यलाई अघ्र्य दिएर चार दिन लामो सूर्य उपासना पर्व अन्त्य गरेको छठ पूजा समितिका सदस्य चन्द्रकान्त यादवले राससलाई जानकारी दिनुभयो ।

उखुको लाँक्रा र केराको घरीसहित पूजा सामग्री लिएर भक्तजनले नदी किनारमा अस्ताउँदो र उदाउँदो सूर्यको उपासना गरेका थिए । आइतबार बिहान स्नान गरी चोखो नितो गरेर बसेका बर्तालुले आज बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिई छठ मनाएमा मनोकाङ्क्षा पूरा हुने, छाला एवं आँखाका रोग नलाग्ने धार्मिक विश्वास छ । दुई दशक अघिदेखि राजधानीमा शुरु भएको छठमा प्रत्येक वर्ष सहभागी हुने भक्तजनको सङ्ख्या बढिरहेको छ । विसं २०४६ अघि छठ तराई क्षेत्रमा मात्र मनाइन्थ्यो । हाल पहाडी क्षेत्रसहित प्रमुख शहरमा छठको रौनक बढ्न थालेको छ । यस पर्वमा पहाडी क्षेत्रका मानिस पनि उत्तिकै सहभागी हुन थालेका छन् । तराई र पहाडका मानिसका बीच सामाजिक सद्भाव बढाउने पर्वका रुपमा छठ स्थापित हुन थालेको छ ।

आज बिहान छठ सकिएपछि नदी किनारमा सफाइ अभियान शुरु गरिने वाग्मती सुन्दरता सरोकार मञ्चका अध्यक्ष उत्तम पुडासैनीले जानकारी दिनुभयो । सफाइमा काठमाडौँ क्षेत्र नं ४ का सांसद गगनकुमार थापा, गुह्येश्वरी विनायक युवा क्लबका सदस्य, सफाइ अभियानकर्मीलगायतको सहभागिता रहने बताइएको छ । छठ मनाउने क्रममा फोहर जम्मा भएकाले चार दिनसम्म निरन्तर गुह्येश्वरी–गौरीघाट क्षेत्रमा सफाइ अभियान चलाइने अध्यक्ष पुडासैनीले बताउनुभयो । भक्तजनलाई मञ्चले नदीको सौन्दर्यता नबिग्रने गरी पर्व मनाउन आह्वान गर्दै माइकिङसहित जनचेतनामूलक अभियान चलाएको थियो ।

पोखरा– उदाउँदो सूर्यलाई अघ्र्य अर्पण गर्दै पोखरामा छठ पर्व आज विधिवत रुपमा सम्पन्न भएको छ । जलाशयको किनारमा छठ पूजाका लागि राखिएका ठेकुवा, भुसुवा, केरा, मिठाई, उखुलगायतका प्रसाद सूर्यदेव र षष्ठी माता अर्थात् छठी मातालाई अघ्र्य अर्पन गरेपछि पर्व सम्पन्न भएको हो ।

पोखराको फेवातालस्थित केदारेश्वर मन्दिरको क्षेत्र र सेती गण्डकी र कालीखोलाको दोभानमा रहेको रिट्ठाघाटमा ब्रतालुले विधिपूर्वक छठ पुजन सम्पन्न गरेका हुन् । यी पर्व हेर्नका लागि ठूलो सङ्ख्यामा पोखरेली पूजास्थलमा पुगेका थिए । मधेशी समुदायमा मात्र सीमित रहेको यो पर्व केही वर्षदेखि पहाडी समुदायमा पनि आफ्नो प्रभाव विस्तार गर्दै गइरहेको देखिन्छ ।

बुटवल– रुपन्देहीको शुद्धोद्धन गाउँपालिका–१ घमाहा खोलामा उल्लासपूर्ण वातावरणमा छठ पर्व सम्पन्न भएको छ । अघिल्लो दिन अस्ताउँदो सूर्यलाई अघ्र्य दिएर रातभर जाग्राम बसेको स्थानीयवासी सेतही लोधले बताउनुभयो ।

छठ पूजा गर्ने स्थल ध्वजापताकाले सजाइएको थियो । राम्रा र सुकिला लुगा लगाएर खोलामा पानीभित्र रहेर महिलाले सूर्यदेवको आरधाना गर्दै अघ्र्य दिएर दीप प्रज्जवलन गरेका थिए । छठ पर्व यस क्षेत्रमा सात वर्षदेखि मनाउन थालिएको स्थानीयवासी दौलती लोध बताउनुहुन्छ । उहाँले भन्नुभयो, “श्रीमानको लामो आयु र आरोग्य तथा सुस्वास्थ्यका लागि छठ मनाइन्छ ।

जनकपुरधाम– आस्थाको महापर्व छठका ब्रतालुले आज यहाँ उदाउँदो सूर्यलाई अघ्र्य दिई पर्वको समापन गरेका छन् । ब्रतालुले गङ्गासागर र अरगजा लगायतका पोखरीमा दुवै हत्केलामा पिठार र सिन्दूर लगाई अक्षता, फूल लिई आफ्नो खेतबारीमा उत्पादन भएका सामग्री र घरमा बनाइएको विशेष प्रकारको पकवान सूर्यलाई अघ्र्य अर्पण गरेका थिए ।

अघ्र्यमा ठकुवा, कसार, केरा, उखु, मेवा मिष्ठान, गेडागुडी र विभिन्न वनस्पति, भुसवा, माटोको हात्ती, सूप, कनसुपती, कलशसहितको घैँटो सूर्यलाई अर्पण गर्ने चलन छ । सूर्यलाई दिइने अघ्र्यमा ठकुवालाई समृद्धि, उखुलाई आरोग्य, केरालाई विष्णु र कृषि उत्पादनलाई प्रकृतिप्रति कृतज्ञताको द्योतक मानिन्छ । छठको मूल सन्देश भनेकै समन्वय, समावेशी र सादगीपन हो । छठ पर्व महिलाको अगुवाइमा समाज र परिवारको हितका लागि सङ्कल्प गरिन्छ, जो यसको महत्वपूर्ण पक्ष हो ।

अस्ताउने र उदाउने सूर्यलाई अभिनन्दन गर्नुको अर्थ जीवनमा सुख, दुःख, रोदन र हाँसोलाई समान रूपमा र जीवनकै पाटोको रूपमा लिइनु हो । धनी, गरीब एकै ठाउँमा उपस्थित भई पूजा गर्नु ईश्वरीय सत्ताको दृष्टिमा सबै समान हुने सन्देश दिन्छ भने सूर्यको उपयोगिता कृषि संस्कृतिमा अपरिहार्य भएको अभिव्यक्ति पनि यस पर्वले दिन्छ ।

आफ्नै खेतवारीमा उब्जने कृषि उत्पादनलाई प्रयोग गर्नु यस पर्वको थप मौलिकता विशेषता हो । सूर्यको आराधनाबाट चर्मरोग निको हुनुकासाथै सन्तान र धन प्राप्ति हुने जनविश्वास छ । ऋग्वेदमा सूर्य नै बल, यश, चक्षुस्रोत, आत्मा र मन भएको कुरालाई ध्यानमा राखी पनि ब्रतालुले यस पर्वमा सूर्यको आराधना गरी मनोवाञ्छित फल प्राप्त गर्ने गरेको विश्वास पाइन्छ । छठका अवसरमा बेहुलीझैँ सिङ्गारिएका पोखरी र तलाउमा नववस्त्रमा सजिएका श्रद्धालुको भीड लागेको थियो । (तस्वीर उपलब्ध छ)

पचली भैरव मन्दिर जीर्ण बन्दै

काठमाडौँ महानगरपालिका–१२ टेकुस्थित पचली भैरव मन्दिर संरक्षण अभावमा जीर्ण बन्दै गएको छ ।

विसं २०७२ को भूकम्पले मन्दिरमा क्षति पुगेपछि मन्दिर तथा त्यस आसपास क्षेत्रमा जोखिम बढेको छ । लामो समयदेखि सामान्य मर्मत तथा जीर्णोद्धार हुन नसकेकाले मन्दिरको अस्तित्व अहिले ओझेलमा परेको हो । करीब दुई वर्ष अगाडि मन्दिरको मूर्ति चर्किएको र पुरानो भएर बिग्रिएपछि ललितपुरको प्रयाग पोखरीबाट नयाँ मूर्ति निर्माण गरी प्रतिस्थापन गरिएको थियो । उक्त मूर्ति निर्माण गर्न पूर्वराजा ज्ञानेन्द्र शाहबाट आर्थिक सहयोग प्राप्त भएको जनाइएको छ । मुलुकमा राजसंस्थाको अस्तित्व कायम रहेको समयमा राजाले पचली भैरवसँग खड्ग साट्ने परम्परासमेत थियो ।

मन्दिरमा रहेको घ्याम्पो आकारको पचली भैरवको मूर्ति दैवी शक्ति सिद्ध गर्न, कुनै पनि शुभकार्य तथा बल प्रयोग गरिने कार्यलाई पूरा गर्न विशेष पूजा गर्ने प्रचलन छ ।विशेषगरी दशैँको समयमा मूर्तिलाई खटमा सजाएर जात्रा निकाल्ने गरिन्छ । मन्दिरबाट नजिकैको दूरीमा मचली भैरवको मन्दिर छ । पचलीको उत्तराधिकारीका रुपमा मचली भैरवलाई लिइएको छ ।

कामपा–१२ का वडाध्यक्ष विकास डङ्गोलले स्थानीय क्षेत्रका प्राचीन र महत्वपूर्ण सम्पदाको संरक्षण गर्ने परम्परादेखि चलिआएका जात्रापर्वलाई निरन्तरता दिन आवश्यक खर्चको व्यवस्थापन गरिने बताउँदै उक्त मन्दिर चालु आवभित्र जीर्णोद्धार शुरु गरिने जानकारी दिनुभयो ।

छठको तयारी शुरु

महोत्तरी, २३ कात्तिक : अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न

अभिप्रेरित गर्ने तराई मधेश तथा मिथिलाञ्चलवासी छठको तयारीमा जुटेका छन् ।

नियम, निष्ठा र विधिपूर्वक मनाइने साझा संस्कृतिका रुपमा रहेको छठमा आवश्यक पर्ने सामग्रीको जोहो र किनमेल गर्न सर्वसाधारण व्यस्त छन् । बाँसका डाला, नाङ्लो, ढकिया, कनसुप्ती, माटोका सामग्रीलगायत छठ पर्वमा आवश्यक नरिवल र सख्खर किनमेल गर्न स्थानीयवासी व्यस्त छन् । मुख्यतः सन्तान प्राप्ति, रोग निदान र पारिवारिक कल्याणका लागि मनाइने छठ पर्वलाई भव्यता प्रदान गर्न ग्रामीणस्तरमा रहेका पोखरी, इनार, तालतलैयालगायत जलाशयलाई विभिन्न सङ्घसंस्था र युवा क्लबले सरसफाइ गरी बिजुली, पण्डाललगायतको व्यवस्था मिलाउन थालेका छन् ।

चार दिनसम्म मनाइने सम्पूर्ण शक्तिको स्रोत सूर्यको उपासनाको छठ पर्वको पहिलो दिन नुहाएर चोखो भई खाने, दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउँदो र चौथो दिन उदाउँदो सूर्यलाई अर्घ दिएपछि विधिवत् रुपमा समापन हुने गर्छ । छठ अवधिभरि माछा, मासु, लसुन, प्याज, कोदो, मसुरो, उसिनेको चामललगायतका खाद्य वस्तु अनिर्वाय रुपमा बार्ने चलन छ । मधेशी समुदायका बीच मात्र होइन छठ पहाडी समुदायका बीचमा समेत लोकप्रिय हँुदै गएको छ । “हामीले पनि प्रत्येक वर्ष छठ मनाउन थालेका छौँ,” स्थानीयवासी रीता लामाले भन्नुभयो । घर, पसल र सार्वजनिक थलोमा छठ नजिकिएसँगै छठको गीत गुञ्जिरहेको छ । दीपावलीको दिनदेखि छठका गीत बजाउने क्रम बढेको छ । तिहार र छठ लगभग सँगसँगै शुरु भइसक्छ ।

हिन्दूको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात तिहार शुरु

काठमाडौँ, १९ कात्तिक : प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म मनाइने हिन्दूको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि शुरु भएको छ । चान्द्रमासअनुसार कार्तिक कृष्ण त्रयोदशीदेखि शुक्ल द्वितीयासम्म पाँच दिन झिलीमिलीको पर्व तिहार मनाइन्छ । यस अवधिमा यमराजसमेत आफ्नी बहिनी यमुनाको निमन्त्रणामा बिदा लिएर बस्ने विश्वास गरिन्छ । यसैले यो पाँच दिनको अवधिलाई यमपञ्चक पनि भनिन्छ ।

यम यातनाबाट मुक्ति पाउन आजैदेखि घरघरमा परिवार सङ्ख्याका आधारमा यमदीप दान गर्ने विधि छ । यमदीप दान बेलुकी गर्ने प्रचलन रहेको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले बताउनुभयो । पहिलो दिन काग तिहार यमपञ्चकको पहिलो दिन कार्तिक कृष्ण त्रयोदशीमा काग तिहार मनाइन्छ । यस दिन कागलाई मीठा खानेकुरा दिएमा राम्रो समाचार लगिदिने विश्वास गरिन्छ । कागलाई यमदूतका रुपमा मान्ने शास्त्रीय परम्परा छ । आज बिहानैदेखि राजधानीको उत्तरपूर्वी भेगस्थित कागेश्वरी महादेव मन्दिरमा काग रुपी महादेवलाई पूजा गर्ने भक्तजनको भीड लाग्छ ।

कात्तिक २० गते मङ्गलबार कुकुर तिहार र नरक चतुर्दशी मनाइन्छ । बिहानै उठेर तिलको तेल घसेर स्नान गरेमा यमराज प्रसन्न हुने जनविश्वास छ । स्नानपछि कुकुरलाई मीठा खानेकुरा खान दिइन्छ । काग र कुकुरलाई यमदूतका रुपमा मानिन्छ । काग र कुकुरलाई मीठा खानेकुरा खान दिइए पनि पूजा गर्ने शास्त्रीय विधि भने नरहेको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले बताउनुभयो । कात्तिक २१ गते बुधबार कार्तिक कृष्ण औँशीका दिन लक्ष्मी पूजा गरिन्छ । यसदिन बेलुकी दीपमालिका गरेपछि धनधान्यकी देवी लक्ष्मीको विधिपूर्वक आराधना गरिन्छ । यसैले तिहारलाई उज्यालोको पर्व पनि भनिन्छ । यसैदिन भलो होस् भनी भैलो खेल्ने चलन छ ।

कूल परम्पराअनुसार कसैले लक्ष्मीपूजाको दिन बिहान पनि गाईपूजा गर्ने गरेका छन् । गाईपूजा नगरी लक्ष्मीपूजा नगर्नेले कात्तिक कृष्ण औँशीकै दिन बिहान गाई पूजा गर्ने गरेका हुन् । शास्त्रीय रुपमा गाईको पूजा कात्तिक शुक्ल प्रतिपदाकै दिन हुनुपर्ने धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा गौतमले बताउनुभयो । कात्तिक २२ गते कात्तिक शुक्ल प्रतिपदाका दिन बिहीबार गाई, गोरु तिहार, कृषक र गोवद्र्धन पूजा हुन्छ । यस दिन वर्षभर हलो जोत्ने हलीको समेत पूजा गर्ने संस्कृति छ । हलतिहारसमेत भनिने यसदिन बेलुकी देउसी खेलिन्छ ।

कात्तिक शुक्ल द्वितीयाका दिन कात्तिक २३ गते शुक्रबार भाइटीका परेको अध्यक्ष गौतमले बताउनुभयो । तिहारको मुख्य दिन दिदीबहिनीले दाजुभाइको दीर्घायु, सुख शान्तिको कामना गरी अष्ट चिरञ्जीवी, यमराज, यमुना एवं बलि राजाको पूजा गरी त्यसको प्रसाद लगाइदिने चलन छ ।
कात्तिक कृष्ण त्रयोदशीदेखि शुक्ल द्वितीयासम्म हिन्दूको दोस्रो ठूलो पर्वका रुपमा दीपावलीअर्थात् तिहार मनाउने गर्छन् । यी पाँच दिन पृथ्वीको शासन बलि राजाले गर्नुहुने पौराणिक मान्यता छ । बलि दानशील राजा थिए । वामन रुप लिई भगवान् विष्णुले तीन पाइला जमीन माग्दा पातालमा भासिनुपरेको कथा विभिन्न पुराणमा वर्णन गरिएको छ । समितिले यस वर्षको भाइटीकाको साइत कात्तिक २३ गते शुक्रबार मध्याह्न ११ बजेर ५५ मिनेटमा उत्तम हुने निर्णय गरेको समितिका अध्यक्ष गौतमले राससलाई जानकारी दिनुभयो । समितिले शुभ बेलाको साइत दिएको जनाइएको छ । कात्तिक २३ गते भाइटीका लगाएपछि दोस्रो ठूलो चाड तिहार सकिन्छ ।

हिन्दूराष्ट्र घोषणा गर्न पण्डित सम्मेलनको माग

काठमाडौँ, १० कात्तिक  : पाँचौँ पण्डित सम्मेलनले ९३ प्रतिशतभन्दा बढी ॐ कार परिवारका सदस्य रहेको नेपाललाई हिन्दूराष्ट्र घोषणा गर्न माग गरेको छ ।

सम्मेलनले आज ११ बुँदे घोषणापत्र जारी गर्दै आन्दोलनको माग नभए पनि छलफल नभई नेपाललाई धर्म निरपेक्ष बनाइएकाले पुनःस्थापना गर्न ध्यानाकर्षण गराएको हो । सम्मेलनले दशैँमा फूलपातीदेखि कोजाग्रत पूर्णिमासम्म, तिहारमा काग तिहारदेखि भाइटीकासम्म, रामनवमी, जनैपूर्णिमा र तीजमा दर खानेदिनदेखि ऋषिपञ्चमीसम्म बिदा दिन माग गरेको छ ।

सडकमा छोडीएका गाईको अपमान र हत्या रोक्न, नाटक, चलचित्र, टेलिचलचित्र एवं सञ्चारमाध्यममा धार्मिक कृत्य तथा पण्डितप्रति अनादर फैल्याउने गरी निर्माण हुने सामग्रीको प्रसारण रोक्न पनि जोडदार माग गरेको छ ।

सम्मेलनले माध्यमिक तहसम्मको शिक्षामा सरल संस्कृत र नैतिक शिक्षाका पाठ्यक्रमको व्यवस्था गर्नसमेत सरकारसँग माग गरेको छ । सम्मेलनले पण्डितलाई पनि आचार एवं निष्ठाका साथ विधिपूर्वक आफ्ना कर्म गर्न आह्वान गरेको छ । श्रीमद्भागवत सप्ताह, चातुर्मास पुराणजस्ता धार्मिक कृत्यलाई अर्थोपार्जनका रुपमा प्रयोग गरी विधिविधानलाई बेवास्ता नगर्नसमेत पण्डितलाई सचेत गराएको छ ।
सम्मेलन समापन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष प्रा डा माधव भट्टराई, कार्यक्रम संयोजक पवित्रबहादुर खड्का, प्राध्यापक श्रीकृष्ण अधिकारी लगायतले पण्डितले राष्ट्र र समाजको नेतृत्व गर्ने गरी आफ्नो ज्ञान र क्षमता वृद्धि गर्नुपर्नेमा जोड दिनुभयो ।

सम्मेलनमा पूर्व राज्यमन्त्री कान्ता भट्टराईले ‘वर्तमान कानूनमा व्यवस्था भएका धर्मशास्त्रसँग बाझिएका महिलासम्बन्धी कानूनी व्यवस्था’ विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

यसैगरी नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका अध्यक्ष प्रा डा देवमणि भट्टराईले ‘धार्मिक क्षेत्रमा देखिएका समस्या’ विषयक कार्यपत्र प्रस्तुत गर्नुभयो । दुवै कार्यपत्रमाथि छलफल गरी आज घोषणापत्र जारी गरिएको हो ।

यसअघिका चार वटा सम्मेलनले पारित गरेका घोषणा पत्रको कार्यान्वयनका विषयमा धर्मसभाका अध्यक्ष भट्टराईले पनि आज कार्यपत्र प्रस्तुत गर्नुभयो । सहभागीले उठाउनुभएका धर्मशास्त्रीय विषयका जिज्ञासाको समाधान धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतम लगायतले जवाफ दिनुभएको थियो ।

सम्मेलनमा हिन्दू, बौद्ध, जैन, सिख समुदायका पण्डित, पुरोहित, लामा, ज्योतिषी गरी ५०० भन्दा बढीको सहभागिता थियो । सम्मेलनमा भाग लिन भारतबाट ३० जना पण्डितको समूहसमेत आएका थिए । नेपालका मौलिक धर्म, संस्कार, संस्कृति र परम्परालाई जीवन्त राख्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको हो । काजकिरिया घटाउने, आशौच र व्रत खण्डित गर्नेलगायत गतिविधिले मौलिक धर्म संस्कृतिमाथि आघात पुग्न थालेकाले संरक्षणमा राज्यको ध्यान जानुपर्नेमा सहभागीले जोड दिएका थिए ।

बृहत् नेपाली शब्दकोशले ‘शास्त्रको तात्पर्य राम्ररी बुझेका विद्वान् व्यक्ति’, शास्त्रवेत्ता, ‘सत् र असत् छुट्याउने बुद्धि भएको व्यक्ति’ लाई पण्डित भनी अर्थ गरेको छ । सम्मेलनले यसअघि नै जारी गरेको पण्डितको आचारसंहिता पालनाका लागि सरकारीस्तरबाट नीतिगत व्यवस्था गर्न पनि सहभागीले माग गरेका छन् ।

यस्तो छ होलीमा प्रहरीको सुरक्षा योजना

 

काठमाडौँ — होली पर्वलाई शान्त, सभ्य, भव्य तथा उल्लासमय वातावरणमा सम्पन्न गर्न गराउन सबैमा महानगरीय प्रहरीले अनुरोध गरेको छ ।

 

केही वर्षयता होलीको मौका छोपेर हुने अपराधिक घटनाहरु कम हुँदै आइरहेकामा यसवर्ष पनि सुरक्षा व्यवस्था कडा पारिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका एसएसपी तथा प्रवक्ता पुर्णचन्द्र जोशीले बताए ।
जबरजस्ती लोला हान्ने, उच्छृखंल तथा शंकास्पद गतिविधि गर्नेलाई तत्कालै कारबाही गरिने हुने उनको भनाइ छ । ‘आपसी सद्भाव कायम गर्दै रमाइलो गर्न पाउने छुट सबैलाई छ, तर सार्वजानिक स्थलमा इच्छा विपरित कार्य गर्नेलाई तत्कालै कार्यबाही गरिन्छ,’ उनले भने । हटलाइन नं. १०० मा तत्काल सम्पर्क गर्न सकिकने उनले बताए ।
मोबाइल टोली, पिकेड, क्युआरटी, रिजर्भ, ट्राफिक मोबाइल, सिभिल गरी उपत्यका भरी करिव तीन हजार सुरक्षाकर्मीहरु खटाइने भएका छन् । मेला, महोत्सवहरुमा पुर्वजानकारी अनुसार सुरक्षाकर्मी खटाइनेछ । शंकास्पद स्थलहरुमा बिशेष सुरक्षाकर्मीहरु खटाइने भएको छ ।

पवित्र तीर्थस्थल देवघाटधाममा सद्बीज छर्नेहरुको भीड लागेको छ

पवित्र तीर्थस्थल देवघाटधाममा सद्बीज छर्नेहरुको भीड लागेको छ । पितृहरुको मोक्ष प्राप्तिका लागि सद्बीज छर्ने चलन रहेको पाइन्छ । यस लोकमा छरेको अन्न पितृहरुको लोकमा अंकुरण हुने र सो बीजका कारण पितृहरुले कहिल्यै भोकै बस्नु नपर्ने भनाइ हिन्दू धर्मशास्त्रमा रहेको छ ।

देवघाट क्षेत्र विकास समितिका अध्यक्ष टंकनाथ पौडेलका अनुसार आज बिहान देवघाटमा एक लाखभन्दा बढी भक्तजन आएका छन् । बिहीबार दिउँसो २ बजेदेखि भक्तजनले जाग्राम दीप प्रज्वलनका लागि नदी किनार र आश्रम क्षेत्रमा स्थान सुरक्षित गर्न थालेका थिए ।

पौडेलका अनुसार तनहुँतर्फको वेणी, गलेश्वर आश्रम, मैयादेवी ट्रस्ट, अघोरी आश्रम लगायतका क्षेत्रमा जाग्राम दीप प्रज्वलन गर्नेहरुको भीड लागेको थियो । रातभर जाग्राम बस्ने र बिहान सबेरै नारायणी, कालीगण्डकी नदी किनार हुँदै मठमन्दिर र आश्रमहरु वरपर सद्बीज छर्ने गरिन्छ ।

आज बिहान २ बजेदेखि बिहान आउने दर्शनार्थीको ओइरो लागेको छ । चितवन र तनहुँ जोड्ने झोलुङ्गे पुलमा एक पटकमा सयजना मात्रै आवतजावत गर्नुपर्नेमा यो सङ्ख्या २५० नाघेको पौडेलले बताउनुभयो ।

निर्वाचनले गर्दा प्रहरीको सङ्ख्या कम रहेकाले व्यवस्थित गर्न कठिन भएको उहाँले बताउनुभयो । देवघाटमा देशका विभिन्न स्थानका साथै भारतलगायत तेस्रो मुलुकबाट पनि भक्तजन सद्बीज छर्न र मेला हेर्न आउने गर्दछन् । अध्यक्ष पौडेलले विगतका वर्षको तुलनामा यस वर्ष अहिलेसम्मकै बढी भक्तजन आएको बताउनुभयो ।

स्रोत-pnpmedianepal.com

हिन्दुअधिराज्यको माग गर्दै शिवसेनाले भक्तपुरमा मा व्यापक जनप्रर्दशन गरेको छ।

हिन्दुअधिराज्यको माग गर्दै शिवसेनाले भक्तपुरमा व्यापक जनप्रर्दशन  भयको हो ।

तस्विरमा

धनधान्यकी देवी लक्ष्मीको पूजा आज सँसार भर गरिदै

यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइँदैछ ।

सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज बिहानै घर सफा सुग्घर र लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ ।

आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सङ्घार, कौसी, अटाली र भ¥याड लगायतका स्थानमा सरसफाइ गरी दीपावली गरिन्छ ।

लक्ष्मी पूजा गरिने कार्तिक कृष्ण औँसीको रातलाई सुखरात्रि पनि भनिन्छ । लक्ष्मी पूजाका लागि आज साँझ आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने पूजा कोठासम्म गाईको गोबर र रातोमाटोले लिपपोत गरेर चामलको पीठो र अबिरले लक्ष्मीको पाइला बनाई लक्ष्मी आउने बाटो देखाइन्छ । पाइलैपिच्छे केराको सुत्लो अथवा माटाको पालामा दीप प्रज्ज्वलन गरी झिलीमिली बनाइन्छ ।

दीपावली गरिसकेपछि पूजा कोठामा दियो, कलश र गणेशसहित लक्ष्मी स्थापना गरेर गरगहना, पैसा, धान, चामल, फलफूल, सेलरोटी र फूलमाला चढाई विधिपूर्वक लक्ष्मीको पूजा गरिन्छ ।

लक्ष्मी पूजा सन्ध्याकालमा गरी मध्यरातमा घरका नारीले नाङ्लो ठटाएर लक्ष्मी भागोस् लक्ष्मी र धनधान्यको आगमन होस् भनी कामना गर्ने शास्त्रीय विधि रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए ।

आज साँझ युवती समूह बनाई घरघरमा भैलो खेल्छन् । भगवान् विष्णुले यमपञ्चकको पाँच दिन स्वर्ग, मत्र्य र पाताल तीनै लोकको शासन गर्ने वरदान पाएका बलिराजाले भलो होस् भनी घरघरमा गाउन लगाएको सम्झनामा भैलो खेल्ने गरिएको हो । भलो होस् भन्ने शब्द समयक्रममा अपभ्रंश भई भैलो हुन आएको पनि उनले बताए।

आज भैलो खेल्न आउनेलाई धान, चामल, फूलमाला, पैसा र सेलरोटी दिइन्छ । भैलो खेल्न आउनेलाई दिइने दान कात्तिकको दान भएकाले नदिएमा राम्रो नहुने र दिएमा पुण्य प्राप्त हुने धार्मिक विश्वास छ ।

लक्ष्मी पूजाका अवसरमा आज शहर बजारमा दीपावली गरी झिलीमिली बनाइन्छ । कूल परम्पराअनुसार कतै आजै बिहान गाईको पूजा गर्ने प्रचलनसमेत छ । शास्त्रीयरुपमा भने औँसीपछि कार्तिक शुक्ल प्रतिपदा लागेपछि मात्र गाई पूजा गर्नुपर्ने उल्लेख गरिएको धर्मशास्त्रविद् गौतमले जानकारी दिए ।

स्रोत- सेतोपाटि डटकम

जरो किलो नेपाल मै भएको मौलिक रैथाने पर्व तिहार, आजदेखि यमपञ्चक सुरु, पहिलो दिन काग तिहार

नेपालीको दोस्रो महान् चाड तिहार (यमपञ्चक) मंगलबारदेखि सुरु भएको छ। कार्तिक कृष्ण पक्ष त्रयोदशीका दिन कागको पूजासँगै तिहार सुरु भएको हो । बडा दसैंको १५ दिनपछि सुरु हुने तिहारको पहिलो दिन कागको पूजा गरिन्छ। तिहारका पाँच दिन क्रमशः काग, कुकुर, गाई (लक्ष्मी), गोरु (गोवद्र्धन) र अन्तिम दिन कार्तिक शुक्ल पक्षको द्वितीया तिथिमा भाइटीका लगाएर मनाइने भएकाले यसलाई यमपञ्चक पनि भनिन्छ । पाँच दिन मनाइने काग, कुकुर, गाई (लक्ष्मीपूजा), गोरु (गोवद्र्धनपूजा) र भाइटीकाबारे हिन्दु धर्मशास्त्रमा वर्णन गरिएको छ।

यमपञ्चकको पहिलो दिन कार्तिक कृष्ण त्रयोदशी अर्थात् मंगलबार चलाख एवं सर्वभक्षी पन्छी कागको पूजा गरिन्छ । यमराजको दूत मानिएको कागले सबैलाई समान दृष्टिले हेर्छ र अन्नबालीमा लाग्ने कीरा-फट्यांग्राहरू खाइदिन्छ भन्ने मान्यता छ। बिहान कागलाई बोलाएर फूलले पूजा गरी खानेकुरा दिने चलन छ । दोस्रो दिन बुधबार कार्तिक कृष्ण चतुर्दशीमा कुकुर तिहार परेको छ । यो दिनलाई नरक चतुर्दशी पनि भनिन्छ । संस्कृतिविद्का अनुसार कुकुरलाई पनि यमराजको प्रियभक्त र दूतका रूपमा लिइन्छ भने भैरवको वाहन कुकुरले घरको रेखदेख गर्छ । कुकुरलाई पनि बिहानै खानुअघि फूलको माला लगाएर पकाएका परिकार दिने चलन छ।

तेस्रो दिन गाईलाई गौमाता वा लक्ष्मीको रूपमा पुजिन्छ। कार्तिक कृष्ण औंसीको यो दिन बिहान गाईलाई विभिन्न रङ र फूलको मालाले रंग्याइन्छ र परिकार खुवाइन्छ । उक्त रातलाई ‘अँध्यारो रात’का रूपमा लिइने परम्परा भएकाले उज्यालो प्रकाशले आलोकित पार्न साँझदेखि लक्ष्मीको आह्वान गरिन्छ। लक्ष्मीलाई ऐश्वर्यको प्रतीक एवं धनधान्यकी देवी मान्दै आइएको छ। साँझ दीपावली गरिन्छ। चौथो दिन, खेतीपातीमा सहयोग गर्ने गोरुको पूजा गरिन्छ। पौराणिक मान्यताअनुसार यस दिन घरघरमा गाईको गोबरले गोवद्र्धन पर्वतको प्रतिमा बनाई सोको पूजा गर्ने चलन छ।

अन्तिम दिन कार्तिक शुक्ल द्वितीया तिथिका दिन भाइटीका लगाइन्छ। भाइटीकाका दिन दिदीबहिनीले दाजुभाइलाई विधिपूर्वक पूजाआजा गर्ने र सप्तरंगी टीकाका साथै कहिल्यै नओइलिने मखमली फूलको माला लगाइदिने चलन छ। दाजुभाइले पनि दिदीबहिनीलाई दान-दक्षिणा एवं वस्त्र आदि दिने गरिन्छ। हिन्दू धर्मशास्त्रअनुसार सूर्यका छोरा यमराजले आफ्नी बहिनी यमुनाको निम्तो स्वीकार गरी बहिनीका घरमा गई पाँच दिनसम्म बिताएकाले तिहारलाई यमपञ्चक भनिएको हो।

शास्त्रअनुसार बहिनीको घरमा रहँदाबस्दा उनको सत्कारबाट प्रसन्न भई यमराजले बहिनी यमुनालाई वर माग भनेका थिए। यमुनाले हरेक वर्ष आजकै दिन भेट्न आउनुपर्ने, दिदीभाइ र दाजुबहिनीको प्रेम र सद्भाव सदा अटल रहनुपर्ने साथै दाजुभाइको आयु, कीर्ति सदा उच्च हुनुपर्ने वरदान मागेकी थिइन्। यमराजले तथास्तु भन्दै मन, वचन र कर्मले शुद्ध चित्त बनाएर भ्रातृपूजा गर्ने र गराउनेको सदा उन्नति हुनेजस्ता वर दिएका थिए।

संस्कृतिविद् जगमान गुरुङले यमपञ्चकका पाँच दिन पाँचवटा धर्म र नीतिले मानव सभ्यता र संस्कृतिको पाँच शृंखलालाई संकेत गर्ने जानकारी दिए। उनका अनुसार यमको अर्थ धर्म अर्थात् विधान वा नीति हो। ‘कागले घुमन्ते जीवन (अवस्था), कुकुरले सिकारी जीवन र गाईले पशुपालन गर्ने जीवनको चित्रण गर्छन्’, गुरुङले अन्नपूर्णसँग भने, ‘गोरुले कृषि जीवन र भाइटीकाका दिन दिदीबहिनीले दाजुभाइलाई लगाउने चलनको सभ्य र सुसंस्कृत मानव जीवन र यसलाई नैतिकतामा आधारित जीवनका रूपमा चित्रण गर्छ।’

स्रोत- अन्नपुर्ण अन्नलाईनबाट

बिशेष समाचार

%d bloggers like this: