चित्लाङ। काठमाडौँदेखि चित्लाङको दुरी २६ दशमलब ७ किलोमिटर मात्र रहेको छ। चित्लाङ, मकवानपुर जिल्लास्थित थाहा नगरपालिका वडा नं ९ मा पर्ने ग्रामिण, ऐतिहासिक तथा अन्वेषणको बस्ती हो।
काठमाडौंको दक्षिणकाली, सिस्नेरी, कुलेखानी, मार्खु हुँदै करिब ३ घण्टामा चित्लाङ पुग्न सकिन्छ। त्यस्तै फर्पिङ हुमानेहुँदै चित्लाङ पुग्न सकिन्छ। नौविसे, टिष्टुङ देउरालीहुँदै पनि चित्लाङ भेटिन्छ। तर, उल्लेखित बाटाहरु मध्ये सबैभन्दा छोटो बाटो भनेको थानकोट, चन्द्रागिरीहुँद चित्लाङ पुग्न सकिन्छ।
नेवार समुदायको बाहुल्यता रहेको बस्तीमा अन्य जातीहरुको पनि बसोबास छ। नेवारी समुदायको कला संस्कृती, रहनसहनका साथै चित्लाङको मनमोहक दृश्यहरु हेर्नको लागि दैनिक सयौंको संख्यामा आन्तरिक तथा बाह्य पर्यटक चित्लाङ पुग्ने गर्छन्।
चित्लाङमा पर्यटकहरुलाई नै मध्य नजरमा राख्दै होमस्टे तथा होटलहरु पनि सञ्चालनमा ल्याएका छन्। त्यसमध्ये एक हो, चित्लाङ अतिथि गृह। चित्लाङभित्र लुकेको खर्क र त्यहि खर्क क्षेत्रभित्र पर्ने अतिथि गृहले पर्यटकहरुलाई आत्मिय सत्कार र सेवा गर्छ। खर्क क्षेत्रभित्र पर्ने सिद्धिखर धाम, रमणीय जंगल, राकश गुफा (चमेरो गुफा) र लामाचौर जस्ता स्थानहरुको सुन्दरता शब्दमा ब्याख्या गर्न कठिन छ।
२ हजार मिटर उचाइमा रहेको महाभारत पर्वत श्रंखलामा पर्ने चित्लाङ प्राकृतिक सम्पदाले सम्पन्न ऐतिहासिक गाउँसमेत हो। यस क्षेत्रबाट कुलेखानी जलविद्युत परियोजनाका लागि निर्मित इन्द्रसरोबार, पालुङ, दामन, सीमभञ्ज्याङ, नेपालको सबैभन्दा ठूलो चौर (भेडिचौर) लगायत विभिन्न हिमश्रृङखलाहरुका दृश्यहरु देख्न सकिन्छ।